शुक्रबार , असार ४, २०७८

निरन्तर बत्ती जान थालेपछि झस्किए मन्त्री पुन !

कार्तिक २९, २०७७ शनिबार 2

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तिहारमा नियमित विद्युत आपूर्तिका लागि गृहकार्य गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। तिहार नजिकिँदै जाँदा लक्ष्मीपूजाको दिन विद्युत आपूर्ति अनियमित हुन सक्ने आशंका बढेसँगै मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्।

बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्री पुनले तिहारमा विद्युतको माग बढ्ने र त्यसले आपूर्ति प्रणालीमा प्रभाव पर्न सक्ने भन्दै सचेत गराएका हुन्। ‘तिहारमा विद्युत आपूर्तिमा समस्या नहोस् भन्ने विषयमा बैठकमा मन्त्रीले चासो राख्नु भएको थियो,’ प्राधिकरण सञ्चालक समितिका एक सदस्यले भने।

बैठकले प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो। मन्त्री पुनले शाक्यलाई तिहारमा विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गर्न निर्देशन दिएका थिए।

निरन्तर बत्ती जान थालेपछि झस्किए मन्त्री
अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिनहुँ पटकपटक विद्युत आपूर्तिमा समस्या देखिएको छ। काठमाडौंका पशुपति फिडरसहितका अन्य फिडरमा दैनिक समस्या दोहोरिँदै घण्टौँ विद्युत आपूर्तिमा अवरोध आइरहेको छ।

‘प्राधिकरण नेतृत्वविहीन भएका कारण आएका समस्या तत्काल समाधान नगर्ने परिपाटी बढेकाले मन्त्रीले चासो दिएको हुनुपर्छ,’ प्राधिकरणका ती सदस्यले भने। मन्त्री पुनले विद्युत आपूर्तिमा समस्या आए सिधै सम्पर्क गर्न आग्रह गरेको भए पनि उपभोक्ताले भने सरकारी भनाइको विश्वास गरेका छैनन्।

प्राधिकरणप्रतिको विश्वास घट्यो
पछिल्लो ४ वर्षमा नेपालमा ऊर्जा क्षेत्रमा ठूलो उपलब्धि हासिल भयो। प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ४ वर्षअघि अर्थात् २०७३ को तिहारपछि लोडसेडिङ अन्त्यको घोषणा गरी सुधारका काम अघि बढाएका थिए।

घिसिङको कार्यकाल गत भदौमा सकियो। त्यसयता प्राधिकरण नेतृत्वविहीन भयो। ‘पछिल्लो समयमा केही कमजोरी भएका छन्, नागरिकले त्यसको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन्,’ प्राधिकरणका ती सञ्चालकले भने, ‘विद्युत आपूर्ति नियमित नहुँदा प्राधिकरणमाथिको विश्वास नै गुम्ने अवस्था आउन लागेको महसुस हामीलाई भएको छ।’

प्राधिकरणमा मन्त्री पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नै नेतृत्व सुम्पिने तयारी गरेका छन्। उनको कार्यशैली र क्षमतालाई लिएर सञ्चालकहरू भने अहिलेका चुनौती सामना गर्न कठिन हुने बताउँछन्। ‘उहाँको विगत हेर्दा चुनौती सामना गर्न सक्ने देखिएन, ११ हजार कर्मचारीलाई काम लगाउने र प्राधिकरणलाई लयमा हिँडाउन सहज छैन,’ ती सञ्चालक भन्छन्।

प्रतिकृया दिनुहोस्