शुक्रबार , असार ४, २०७८

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

कार्तिक ११, २०७७ मंगलबार 5

दसैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ। दसैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ। दसैं सकाएर काममा फर्किनेहरु

तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ। सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ। कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन्। यसले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ।वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन्। थप एक महिनाको तलब दसैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ। दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो।

‘पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो। पहिले दसैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्। कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’, अर्थशास्त्री डा लाभ भन्छन्। व्यवसायीहरुका अनुसार दसैंमा करिब १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ।

जनकपुरमा मात्र हरेक वर्ष दसैंमा २५ हजार खसिबोका खपत हुने तथ्याङ्क छ। यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ। यसबाहेक निजी क्षेत्रका सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दसैं खर्चबापत बोनस तथा भत्ता दिन्छन्। यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ। पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन्।

विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन्। अन्य महिनाको तुलनामा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

प्रतिकृया दिनुहोस्