शुक्रबार , असार ४, २०७८

प्रचण्डको जवाफ : बिधि नमान्दा र अरूलाई बदमान गर्दा बहादुर भइन्छ भन्नेसँग संवादको के अर्थ !

कार्तिक १७, २०७७ सोमबार 2

काठमाडौं : कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव, मन्त्रिपरिषद् विस्तार र ‘रअ’ प्रमुख सामन्त गोयलसंगको गोप्य भेटले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । पार्टी स्थायी कमिटि र सचिवालयले दिएको म्यान्डेड विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले मनलाग्दी गरेको भन्दै उनीइतरको समूह आक्रामक बनेको छ ।

यो सबै कुराको छनक पाएर आफूमाथि मडारिएको कालो बादलको आंकलन गरेरै प्रधानमन्त्री ओलीले कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त कहिले वरिष्ठ नेता माधव नेपाल फकाउने आनेक प्रयत्न गरिरहेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको वार्ताले मात्रै निकास नदिने निष्कर्ष मात्रै निकालेका छैनन् बरू पार्टीकै बैठक डाकेर सघन छलफल गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूलाई खुमलटार पठाएर प्रचण्ड फकाउने अनेक प्रयत्न गरेकै बेला प्रचण्डले भने सधैभरी मनलाग्दी गरेर आफूलाई मात्रै विवादमा तान्ने काम गरेको र वालुवाटारले कुप्रचार मात्र गर्नेगरेकोले अब ओलीसँग होइन, पार्टी कमिटीकै बैठक बसरे सघन छलफल गर्नुपर्ने बताएर नेताहरू फर्काएका छन् ।

प्रधानमन्त्री ओलीसँग संवाद ठप्प भएपछि दोस्रो तहका नेताहरू खुमलटार पुगेर मनाउने अनेक कोसिस गरिरहेका छन् । संदेश बोकेर जाने सबैजसो नेताले दुई अध्यक्ष बसेर संवादहीनतालाई तोड्नुपर्ने र समझदारीका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए । पार्टी महासचिव विष्णु पौडेलले बुधबार प्रचण्डलाई भेटेर संवादमा जोडिन आग्रह गरेका थिए ।

बुधबार नै संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुईजना अध्यक्षबीचको समझदारी विवाद समाधानका लागि निर्विकल्प बनेको बताएका थिए । बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्‍कर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीपकुमार ज्ञवालीको आग्रह पनि त्यस्तै थियो । दुवै नेताले संवादहीनता अन्त्यको आग्रह गरेका थिए ।

तर, प्रचण्डले आफू बालुवाटारमा जाँदा अनेक विवादमा तान्ने गरेको र कुप्रचार गर्ने गरेकाले दुई अध्यक्ष बसेर समाधान निस्कने सम्भावना नरहेको जवाफ फर्काएका थिए । प्रचण्डले दुई अध्यक्ष बसेर बनाएको सहमति आफू त्यहाँबाट निस्कनेबित्तिकै उल्लङ्घन गर्ने गरेका अनेक घटना सुनाउँदै नेताहरूलाई फर्काएका थिए ।

प्रचण्डनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई विवादमा तान्ने र मनलाग्दी गर्ने गरेकाले दुई जनामा मात्रै छलफल आवस्यक नभएको प्रचण्डले निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कुनै पनि निर्णय शिरोधार्य नगरेपछि छलफलको औचित्य समाप्त भएको प्रचण्डको निष्कर्ष रहेको उनीनिकट नेताले बताएका छन् । स्थायी कमिटी बैठकले गरेका निर्णय-निष्कर्ष पालनामै समस्या सिर्जना भएपछि तान्तरतार बालुवाटार धाउनु र छलफल गर्नुको अर्थ नदेखिएको प्रचण्डनिकट नेताको भनाइ छ ।

नेताहरूसंगको भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टी बचाउँ, पार्टी एकता मजवुत बनाउँ, विधि पछ्याउँ भन्ने कुनै इच्छा नभएको र पार्टी र कमिटिको निर्णय उल्लङ्घन गर्दा बहादुरी ठान्ने प्रवृति भएकाले उनीसंग संवादको कुनै अर्थ नभएको समेत बताएका थिए ।

‘बिधि उल्लङ्घन गर्न पाए बहादुर भइन्छ भन्ने उहाँलाई लाग्छ, अरूलाई विवादमा तान्न पाए बहादुर भइन्छ भन्ने उहाँलाई लाग्छ । अल्मल्याउने र सत्ता लम्ब्याउनेबाहेक प्रधानमन्त्रीमा अरू चाहना देखिन्न।’ भेटमा प्रचण्डले एक नेतासंग भनेका थिए ।

‘प्रधानमन्त्रीले आफ्नो चाहनाअनुसार नै मन्त्रिपरिषद् पुनर्गठन, नियुक्ति आदि काम गरेपनि विधि त पछ्याउँन सकिन्छ, कम्तीमा पार्टी कमिटीमा छलफल गरेर अगाडी बढ्न सकिन्छ, साझा धारणा बनाउँने कुरामा पनि प्रधानमन्त्री ओलीले अटेर गरेर आफूखुसी गरेर खाली सट्टा टिकाउने मात्रै खेलो भैरहेको प्रचण्डनिकट एक नेताले बताए ।

प्रधानमन्त्रीमा पार्टी बनाउने, आन्दोलन जोगाउने, सरकार र पार्टीको काम प्रभावकारी बनाउने चाहना नै नदेखिएको प्रचण्ड-नेपाल समुहको निष्कर्ष निकालेको पनि स्रोत बताउँछ ।

प्रतिकृया दिनुहोस्