शुक्रबार , साउन १५, २०७८

दोषी नेतामात्र कि हामी पनि ?

जेठ ३०, २०७८ आइतबार 138

बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए।

हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ।

हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक

परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकांश देशहरू नेपालभन्दा साना छन्। चीन, भारत, अमेरिका, क्यानडा, इन्डोनेसिया जस्ता केही राष्ट्रबाहेक अन्यलाई हेर्दा नेपाललाई सानो देश भन्न मिल्दैन। हामी संसारको ९४औं ठूलो राष्ट्र हौं तर विद्यालयमा हामी धेरै साना छौं

हाम्रो मुटु सानो छ भन्नेजस्ता कविता पढाइन्छ र गलत मानसिकता निर्माण गरिन्छ।लेखकहरू फरिद जकारियाको ‘पोस्ट–अमेरिकन वल्र्ड’ र जोसेफ एस नाईको ‘सफ्ट पावर’ र पराग खन्नाको ‘द फुयचर इज एसिया’

जस्ता पुस्तकमा सुझाइएका अवधारणाको प्रयोगबाट एसियाका अधिंकाश देशले प्रगतिको नयाँ कद प्राप्त गरे। तर अपार सम्भावना र प्रचुर श्रोतसाधनका बागजुद हामी असफलता उन्मुख छौं।

सशक्त सरकार बनेपछि उक्त दुर्भाग्य रोकिने आशा थियो तर गहिरिँदैछ। अनि नागरिकचाहिँ नेता गलत भएको भन्दै नेतृत्वको सत्तोसरापमा व्यस्त छौं। प्राचीन राजनीतिशास्त्री अरस्तुकृत पुस्तक ‘पोलिटिक्स’ले भन्छ खराब नागरिकले

खराब नेता जन्माउँछन् र उसले देश सखाप पार्छ। त्यसैले अब सुधार नागरिकको तहमा खोजिनुपर्छ। नागरिक सुधारको आवश्यकत सन् २०१२ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि मिट रोम्नी आफ्नै पेशा प्राध्यापनमा फर्किए।

विदेशमा अधिकांश पूर्वविशिष्ठहरू देशको ढुकुटी दोहनको सट्टा आफ्नै आर्थिक–सामाजिक जीवनमा फर्कन्छन्। हामीकहाँ एकचोटी पदमा भएको मानिस जिन्दगीभर विलासी र सौखिन रहन्छ।

यहाँ नेतृत्व निर्णयहीन छँदैछ, नागरिक पनि निसन्देह छौं। खाली अरूको कटाक्ष गरेर बस्छौं तर आफैं अलिकति सकारात्मक र रचनात्मक योगदान दिन विल्कुल सोच्दैनौं। विदेश भाग्नुमात्र समस्याको समाधान होइन।

देशमा समस्या हुँदा आफैंसमेत लागेर निराकरण गर्नुपर्छ, फेसबुकमा अर्ति/उपदेश छाँटेरमात्र हुँदैन। आधुनिकताको खोक्रो खोलमा खेतबारी बेचेर हतार/हतार कोरिया कतार धाउने अनि यही बस्नेहरू दूध बेचर कोकाकोला पिउने संस्कृतिले पनि देशलाई जर्जर बनाउँदै छ।

घरमा आलु भुटेर खान नचाहनेहरू रेस्टुरेन्टमा महंगो बिल तिरेर फिङ्गर चिप्स/फ्रेन्च फ्राईमा रमाउँछौं। बासी भातलाई पाखे र असभ्य मान्नेहरू फ्राइड राइसको सौखिन छौं। जहाँ सस्कार डामाडोल छ, त्यहाँ समृद्धि र सभ्यता गोलमाल हुन्छ, हाम्रो अवस्था यही हो।

हामी नागरिक अरूलाई सल्लाह र सुझाव दिनेमा उच्च कौशलता राख्छौं तर आफ्नो ठाउँ सपार्न खोज्दैनौं। देशको बर्खिलाप गर्नेमा रमाउँछौं। घरमात्र ठूला बनाउँछौं, बाटो बनाउँदैनांै। राम्रो शिक्षा चाहान्छांै तर शिक्षण कर्मलाई मन पराउँदैनौं।

मर्यादित र सम्मानित हिसाबले हेर्दैनौं। सरकारी सेवामा छौं, नागरिकलाई विश्वसनीय सेवा दिन सक्दैनौं, आफैंले पनि विश्वास गर्दैनौं। सरकारी कर्मचारीले पनि सन्ततिको शिक्षामा सरकारी विद्यालय अनि उपचारमा सरकारी अस्पतालमाथि विश्वास राख्दैनौं। त्यो अवस्था बनाउन सकेका छैनौं।

विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कँदै हिड्छौं तर आफैं रहेको विश्वविद्यालयमा सामान्य सुधार गर्नसमेत रुची देखाउँदैनौं। स्वच्छ र सुन्दर समाज चाहन्छौं, फोहोरचाहिँ सडकमा फाल्छौं।

सार्वजनिक पदमा हुन्छौं तर सेवाग्राहीलाई सहज, सुलभ सेवा प्रवाह गर्दैनौं। सरकारी सेवालाई जिम्मेवारी कम अनि कमाउने अवसरको रूपमा बढी प्रयोग गर्छौं। श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरीकन खानेलाई भाग्यमानी सम्झन्छौं।

आर्थिक उपार्जनमा रोजगारी निर्माणसमेत गर्ने गरी साना लगानीका नै भए पनि व्यावसायिक अभ्यास गर्ने सोच्दैनौं।सहयोग र दाताका भरमा देश विकासको आश गर्छौँ। ड्याम्सिया मोयोको ‘डेड एड’, जोनथान क्वार्जको ‘द बिग ट्रक द्याट वेन्ट बाई’ अनि विलियम गोल्डिङको

‘लर्ड अफ द फ्लाईज’जस्ता पुस्तकहरूले देखाउँछन् कि दान र सहयोगले देश धनी बन्दैन। बन्ने भए आज पूरै अफ्रिका संसारको सबैभन्दा धनी देश बनिसक्थ्यो। पराधीन संस्कार र विरोधी मानसिकता मात्र राख्छौं।

चिकित्सा ऐन बन्दा चिकित्सकबाटै अन्धाधुन्ध आक्रामक अवरोध हुन्छ। सार्वजनिक यातायातलाई व्यवस्थित गर्न खोज्दा व्यापारी/व्यवसायीको प्रतिरोध आउँछ। राज्यको कर प्रणालीलाई पारदर्शी र योगदानकर्तालाई जिम्मेवार बनाउन स्थायी लेखा नम्बर लागू गर्न,

मजदुर तथा श्रमिक हितका लागि सामाजिक सुरक्षा कोषमा समाहित हुन अनि बैंकमार्पmत तलब भुक्तान गर्नसमेत अनिच्छा देखाइन्छ। किनकि त्यसो गर्दा पारदर्शी हुनुपर्ने बाध्यता हुन्छ। प्रशासन सुदृढीकरणमार्पmत चुस्त,

किफायती अनि नागरिक सेवाप्रवाह उन्मुख बनाउन खोज्दा कर्मचारीबाट सहयोग रहँदैन। ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे/भोलि भन्ने र अधिकांश समय चिया पसलमा बिताउनेले पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकारले चाहिँ केही नगरेको भाषणबाजी गर्दै हिँड्छ।

शिक्षालाई उत्तरदायी स्तरीय तथा आधुनिक बनाउने योजनामाथि विद्यालय सञ्चालक अनि शिक्षकहरूको जुलुस, आन्दोलन तथा धर्ना हुन्छ। बजार अनुगमन भए स्वयं बिक्रेताहरू आन्दोलनमा उत्रन्छन्।

न्यायालय सुधारको प्रस्तावमा वकिल अनि निर्माणसम्बन्धी काममा केही सुधार गर्न खोज्दा ठेकेदारहरूको विकराल असहयोग साथै विरोधमा विशाल शक्ति प्रर्दशनसमेत हुन्छ। झन्डै आठ खर्ब रुपैयाँ करछली भएका तथ्यांक बाहिरिँदैछन्।

कर प्रणालीका सुधारमा व्यापारी/व्यवसायीहरू अनि ढुवानीलाई व्यवस्थित गर्न खोज्दा ढुवानीकर्ताबाट नै अवरोध हुन्छ।हरेक क्षेत्रमा कानुनको उचित पालना र कार्यान्वयन नभएकोमा सरकारलाई निरन्तर दबाब दिने सञ्चार क्षेत्र आफैंसमेत कानुन अनुसार नियमन भएर बस्ने धैर्यता राख्दैन।

विदेशी राजदूतले सिधै मन्त्रीहरू भटेकोमा कुटनीतिक अनुपालनाको बर्खिलाप भएको भन्दै सम्झाउने हैसियत राख्ने सौखिनता देखाउने र आफूलाई मात्र मूलधार भएको दावा गर्ने केही छापाका सम्पादकहरू आफैं चाहिँ यदाकदा दूतावासको रंगीन भोजमा जाँदा मर्यादा ख्याल गर्दैनन्।

सबैमा केवल गाली, मोह र विरोधको आदत छ।नेतृत्वले नैतिकता देखाए र नागरिकले साथ दिए के हुँदैन ? महाशक्ति अमेरिकाको कठोर नाकाबन्दीबीच क्युवाको इतिहास सफलताको साक्षी छ।

सन् २००१ को भूकम्पले हल्लाएपछि फेरिएको नेतृत्वले गुजरातलाई दिएको उचाई उदाहरणयोग्य छ। केही वर्ष पहिले पाकिस्तानले भूकम्पको समयमा विदेशी सहयोग नकार्दै आफ्नै बलबुताले संकट व्यवस्थापन गर्‍यो।

तर हामी गन्तव्यमा सचेत छैनौं, मन्तव्यचाहिँ शानदार दिन्छौं। यहाँ देश बन्नु/नबन्नुमा कसैलाई चिन्ता छैन, केवल आफू बन्ने दौडाहा र हतारोमात्र छ। आत्मसात गरौं नेतृत्व स्वार्थी त अवश्य छ तर नागरिक पनि संवेदनाहीन स्वाँठ छौं।

नेताहरूले केही नगरेको भनेर बिगुल बजाउँछौ अनि तिनैका पछि टोपी फुकालेर दौडन्छौं। प्रसिद्घ पूर्वीय शास्त्रीय दार्शनिक कन्फुसियस भन्थे, अरूलाई पढ्ने ज्ञानीमात्र हुन्छन् तर आफूलाई पढ््नेहरू चाहिँ अन्तर्यामी पनि हुन्छन्।

हामी खाली अरूको बारेमा बढी जानकार रहन्छौं। सबै सुध्रिएको हेर्न चाहन्छौं तर पेशाकर्मी, व्यवसायी, शिक्षक, वकिल, सामाजिक अभियन्ता, विकास सहजकर्तालगायत सबै सरोकारवाला आफूसमेत सुध्रनुपर्छ भन्ने मान्न र त्यसको पहल गर्न तयार छैनौं।

अहिले हरेक क्षेत्र व्यापारमा परिणत हुँदैछ, सबै सरोकारवाला आफ्नो क्षेत्रबाट अकुत वाञ्छित तथा अवाञ्छित नाफा वा आम्दानी गर्ने ‘रेन्ट सिकिङ एटिच्युड’बाट ग्रसित छौं। नेतृत्वलाई सुध्रन दबाब अथवा नयाँ विकल्प पनि दिदैनांै।

खराब छन् भन्ने जान्दा जान्दै पुनः त्यही प्रवृत्तिका सोही पात्रलाई निर्वाचनमा जिताउँछौं अनि फेरि केही नगरेको भनेर कटाक्षेप गर्न थालिहाल्छौं। यस्तो सौखिन र विलासी औपचारिकताले देश अरूको परीक्षण प्रयोगशाला बन्दैछ, बेलैमा सचेत हुनुपर्छ।

सबैले आआफ्नो ठाउँबाट राम्रो गरौं। अरूलाई गाली र उपदेश पस्कनुभन्दा आफू जिम्मेवार हुँदै आफैंबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने हिसाबले काम गर्न सिकौं।

अहिलेसम्म बिग्रनुमा जिम्मेवार सबै छौं, सुधार्ने र सपार्ने प्रयास सबैले गरौं। नागरिक नै नसुध्रिएसम्म नेतृत्व सुध्रिदैन। मनन गरौं, देश नेताले मात्र बिगारेको होइन, नागरिकले पनि हो।

प्रतिकृया दिनुहोस्