मंगलबार , साउन १२, २०७८

देउवालाई केन्द्रीय सदस्यहरूको भरथेग- निधिलाई समेट्नु, सभापति तपाईं नै हुनुहुन्छ

असार ७, २०७८ सोमबार 178

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनीनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूले सकेसम्म सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार हुन सुझाव दिएका छन्।

लामो समयदेखि देउवालाई सहयोग गरिरहेका उपसभापति विमलेन्द्र निधि पनि सभापति उठ्ने बताएका बेला निधिलाई साथै लिएर सभापतिमा देउवा नै दोहोरिनुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो।

‘सभापतिले हामीसँग म फेरि सभापति उठ्ने हो भन्नुभयो,’ बुढानिलकण्ठमा सोमबार भएको बैठकपछि केन्द्रीय सदस्य वीरबहादुर बलायरले सेतोपाटीसँग भने, ‘संकटका बेला शेरबहादुर देउवा नै सभापति बन्ने हो,

उहाँको विकल्पमा अरू नेता हुन सक्दैन भन्यौं।’आजको बैठकमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका देउवानिकट १५ जना केन्द्रीय सदस्य उपस्थित थिए।उक्त बैठकमा उपसभापति विमलेन्द्र निधिले सभापति उठ्ने तयारी गरेकोबारे कुरा उठेको थियो।

केन्द्रीय सदस्यहरूले निधिलाई साथै लिएर अगाडि बढ्न देउवालाई सुझाव दिएका छन्।‘विमलजीको कुरा बैठकमा केही साथीहरूले निकाल्नुभएको थियो। यो कुरा के हो भनेर हामीले सभापतिलाई सोध्यौं,’ उनले भने,

‘सभापतिजीले उहाँ (निधि) पनि सभापति उठ्छु भन्नुभएको छ भन्नुभयो।’उपसभापति निधि सभापति लड्ने नै अवस्था बन्यो भने पनि सभापतिमा देउवा नै उठ्नुपर्ने र जित्ने पनि केन्द्रीय सदस्यहरूको दाबी थियो।

‘उहाँ (निधि) सभापति लड्छु भन्नुभएको छ, लडे लड्नुहुन्छ राम्रो हुन्छ,’ देउवाका कुरा उद्धृत गर्दै उनले भने। निधिलाई साथै लिएर जानेबारे सभापति देउवाले नै कुराकानी गर्ने बलायर बताउँछन्।

‘विमलजीलाई पनि साथै लिएर अगाडि जानेबारे सभापतिले नै कुराकानी गर्नुहुन्छ। कुराकानी भइरहेका पनि होलान्,’ उनले भने, ‘विमलजीले मिल्दैन भन्नुभयो होला कि!’

केन्द्रीय सदस्यहरूले २०७२ सालमा भएको १३ औं महाधिवेशनका बेलाभन्दा अहिले सभापति जित्न झन् सजिलो भएको बताएका थिए। तर उनीहरूले त्यसको आधार भने प्रस्तुत गरेका थिएनन्।

गत शनिबार देउवा निवासमै निधिले आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए। तर देउवाले आफू नै सभापति हुने गरी अगाडि बढिसकेको जनाउ दिएका थिए। त्यसपछि निधिले पनि नेताहरूसँग परामर्श थालेका छन्।

आज महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई निवासमै बोलाएर महाधिवेशनबारे कुराकानी गर्दै सहकार्य गरेर जाने सहमतिमा निधि पुगेका छन्।

शनिबारदेखि आजसम्म देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग सभापति उठ्ने कुरा प्रष्ट बताइसकेका छन्। शनिबार उनले प्रदेश नम्बर १ र २, आइतबार बागमती र गण्डकी तथा आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेतासँग देउवाले परामर्श गरेका हुन्।

आइतबार भएको बागमती प्रदेशका नेताहरूसँगको छलफलमा सहभागी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापतिमा देउवालाई फेरि पनि सभापतिमा जिताउन आफूहरू एकमत रहेको बताएका थिए।

बागमती र गण्डकी प्रदेशका १४ केन्द्रीय सदस्यले फेरि पनि सभापतिमा देउवा नै जित्ने आधार पेश गरेका थिए। देउवाले मुलुक नै चलाउनुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको अवस्थामा सभापतिमा विकल्प खोज्न नहुने तर्क उनीहरूको थियो।

‘सभापति देउवाले पार्टी नेतृत्व हाँकेर मात्रै पुग्दैन, विपक्षी गठबन्धनले प्रधानमन्त्रीका रूपमा अगाडि सारेका छन्, उहाँले नै मुलुकलाई यो संकटबाट पार लगाउनुपर्नेछ। यस्तो बेला उहाँको विकल्प खोज्नु हुन्न,’

बैठकपछि बस्नेतले भनेका थिए, ‘तपाईं अगाडि बढ्नुस् हामी पूर्ण रूपमा साथ र सहयोग गर्न तयार छौं भनेका हौं।’उपसभापति निधि सभापतिमा उठ्ने भनेकोले सभापति देउवाले नै ‘वान टु वान’ कुराकानी गरेर सहमति

गर्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो। देउवा निकटका नेताहरू ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मालगायत भने टिमभित्र राम्रोसँग छलफल गरेपछि मात्रै सभापतिले औपचारिक घोषणा गर्नुपर्नेमा छन्।

सभापति देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर आफू सभापति उठ्ने भएकोले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोगी भूमिका खेलिदिन आग्रह गरेका छन्। पार्टी चलाइसकेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकोले आफू

नै एक कार्यकाल पार्टी नेतृत्वमा रहनुपर्ने जिकीर देउवाको छ।देउवाले सर्वसम्मत रूपमा आफू सभापति हुन चाहेको बताइरहेका छन्। तर आफ्नै टिमभित्र सर्वसम्मत हुन कठिन देखिएको छ।देउवाले सभापतिमा

उठ्ने तयारी गर्दै छलफल तीव्र पारे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने खासै तयारी गरेका छैनन्। उनीहरूले केही समय अझै पर्खेर एकमतसाथ अगाडि बढ्ने रणनीति लिएका छन्।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला सभापतिमा उठेका थिए। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाको सहयोगमा देउवा *सभापति भएका थिए।भदौ १६ देखि १९ गतेसम्म कांग्रेसको १४ औं

महाधिवेशन छ। त्यसका लागि अहिले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंग्याउने तयारी भइरहेको छ। कांग्रेसले साउन १२ गतेदेखि वडा अधिवेशन गर्ने निर्णय गरेको छ।महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि वडासम्म नै नेतृत्वमा कसलाई पुर्‍याउने भन्ने बहस चलिरहेको छ।

प्रतिकृया दिनुहोस्