शुक्रबार , साउन १५, २०७८

बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक

असार ८, २०७८ मंगलबार 123

स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष

२०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको नवौं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शिवराज सुवेदीले

कोरोनाभाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति

लिइएको बताए। उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकमा प्रमुख सुवेदीले महामारी र अन्य विपदबाट नागरिकको जीवन रक्षालाई नीति कार्यक्रमको

केन्द्रबिन्दुमा राखेको जानकारी दिए। उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरबासीलाई कोभिड-१९ विरूद्धको खोप सुनिश्चिताका

लागि पहल गर्ने बताएको छ। त्यस्तै, बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाहरूका लागि रोजगारी सिर्जना र उद्यमशीलता; सीप विकास, जेष्ठ नागरिकको

सम्मानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरप्रमुख सुवेदीकोे भनाइ थियो। कोभिड महामारीको पहिलो र दोस्रो लहरले सामाजिक र आर्थिक

क्षेत्रमा प्रभावित पारिरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रम रोजगारी सृजना गरी आर्थिक विकासलाई निरन्तरता दिने, अधुरा वार्षिक र बहुवर्षीय योजना

सम्पन्न गर्ने, सामाजिक र आर्थिक विकासबाट नगरबासीको जीवनस्तर उकास्ने, स्थानीय सरकारलाई प्राप्त अधिकारको यथेष्ट प्रयोग गर्ने र स्थानीय सेवा प्रवाहलाई

जनमैत्री बनाउने जस्ता कुराहरूमा केन्द्रित गरिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले उपमहानगरको आर्थिक, सामाजिक, साँस्कृतिक

विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिको स्पष्ट खाकाअनुसार नगर विकास योजना तर्जुमा गरी कार्यान्वयनलाई निदृष्ट गरिएको नगरप्रमुख सुवेदीले बताए।

त्यस्तै, कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ।

बुटवलले सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसक्नेहरूका लागि

शल्यक्रिया गर्दा लाग्ने खर्चमा अनुदान दिने घोषणा गरेको छ। महिलाहरूमा स्तन क्यान्सर, प्रसूति तथा गर्भवती परीक्षण, पाठेघर परीक्षण र १४ वर्ष मुनिका

बालबालिकाहरूको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पुर्‍याउने कार्यक्रम उल्लेख गरिएको छ। गर्भवती महिलालाई आइरन, क्याल्सियम लगायतका

औषधिहरू नि:शुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा नि:शुल्क प्रदान गर्ने, तथा ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम’लाई प्रभावकारी बनाई

नि:शुल्क औषधि वितरण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको सुवेदीले बताए। विद्यार्थीहरूमा बढ्दो आँखासम्बन्धी समस्या समाधान गर्न उपमहानगरपालिकाले सबै

सामुदायिक विद्यालयका विद्यार्थीहरूको वर्षमा एकपटक नि:शुल्क आँखा जाँच गर्नुका साथै जटिल र संवेदनशील मुटु, मिर्गौला, क्यान्सर, अटिजम, अल्जाइमर,

हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाका बिरामीलाई औषधि उपचार खर्चमा अनुदान दिने नीति लिएको छ। बुटवलले गुणस्तरीय शिक्षामा समतामूलक

अवसर सृजना गर्दै प्रविधि मैत्री विद्यालयको विकास गरी ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा अगाडि सारेको छ। रोजगारी सिर्जनाका लागि उपमहानगरपालिकाले

सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिई श्रम बैक र श्रम डेक्स सञ्चालन गर्ने जनाएको छ भने स्वरोजगारिता वृद्धि गर्ने, सीप

सिकाउने र करिब सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने नीति बुटवलले लिएको प्रमुख सुवेदीले बताए। विगतका वर्षमा जस्तै आगामी वर्ष पनि मेयर

युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गरिने सुवेदीले बताए। अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा

लाग्ने करमा शतप्रतिशत छुट दिइनुका साथै एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीति समेत नगरपालिकाले लिएको छ। मकै, गहुँ, तरकारीको बिउ,

सिँचाइ बोरिङ, माछा पोखरी, दूध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै त्यसको निरन्तरता दिएर सहरी कृषिलाई अझै प्रभावकारी बनाइने उपमहानगरपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्