शुक्रबार , साउन १५, २०७८

३० खेलयता अपराजित छ इटली, यस्तो थियो अन्य टिमको अपराजित यात्रा

असार ११, २०७८ शुक्रबार 157

पछिल्लो पटक २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा  पोर्चुगलसँग इटली १–० ले पराजित भएको थियो । त्यसयता रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको टोलीले कुनै खेल हारेको छैन ।

युरोकपमा समूह चरणका सबै खेल जितेर इटली अन्तिम १६ मा छनोट भएको छ । तीनवटा खेलमा ७ गोल गरेको इटलीले बदलामा कुनै गोल खाएन । युरोकपको समूह चरणमा इटली र इङल्यान्डमात्रै गोल नखाने टोली हुन् ।

इटली अहिले ३० खेलको अपराजित यात्रामा छ । उसले पछिल्ला ११ खेलदेखि कुनै गोल खाएको छैन । चार पटकको विश्वविजेता अहिले आफ्नै कीर्तिमान तोड्न संघारमा छ ।

अष्ट्रियाविरुद्ध युरोकपको अन्तिम १६ को खेल जित्न सके उसले १९३० को दशकमा कोरिएको आफ्नै कीर्तिमान भंग गर्नेछ । १९३५ देखि १९३९ सम्म पनि इटली ३० खेलसम्म अपराजित थियो ।

त्यतिबेला भिट्टोरियो पोज्जो इटलीका प्रशिक्षक थिए । यस अवधिमा इटलीले १९३८ को विश्वकप उपाधि र १९३६ को ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो । नयाँ रेकर्ड बनाउने तयारीमा​ इटलीका खेलाडीहरु जुटिरहेका छन् ।

तर सर्वाधिक धेरै खेलसम्म अपराजित रहने टोलीको सूचीमा इटली पहिलो भने होइन । यो सूचीमा ब्राजिल र स्पेन पहिलो नम्बरमा छन् । १९९३ देखि १९९६ सम्म ब्राजिल ३५ खेलमा अपराजित थियो ।

२००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमै अपराजित थियो । त्यसैगरी, १९९१ देखि १९९३ सम्म ३१ खेलमा अर्जेन्टिना अपराजित थियो । १९३५ देखि १९३९ सम्म इटली ३० खेलमा अपराजित थियो भने

अहिले टोली २०१८ यता ३० खेलमा अपराजित छ ।  १९९४ देखि १९९६ सम्म फ्रान्स पनि ३० खेलमा अपराजित थियो । २०१८ यता लामो समय अपराजित रहने इटली एक्लो होइन ।

यही समय अल्जेरीया पनि अपराजित अवस्थामा छ । अल्जेरीयाको अपराजित खेल संख्या २७ पुगिसकेको छ । १९७८ देखि १९८१ सम्म जर्मनी २३ खेलमा अपराजित थियो । त्यसैगरी २०१० देखि २०१२ सम्म फ्रान्स २३ खेलमा अपराजित रह्यो ।

प्रतिकृया दिनुहोस्