शुक्रबार , साउन १५, २०७८

आमाप्रति सन्तानको व्यवहार नि विभेदयुक्त छैन र?

असार १३, २०७८ आइतबार 202

म सानैदेखि आमाको काखमा हुर्किएँ अनि बुवाको काँधमा खेलेँ। माया, ममता, स्नेह आमाबाट पाएँ अनि बुवाबाट जिम्मेवारी

र कर्तव्य बोधका कुराहरु। दुवै आँखाका नानी समान हुँदै गएँ। घर बाहिर पुग्दा कसैले आमाको बढी माया लाग्छ कि बुवाको? भनी सोध्दा

म अकमक्क पर्थेँ। कुराहरु मोड्न खोज्थेँ। तर अहिले सोच्दा के आमाले आफूले पाउने उत्तिकै माया स्नेह पाइन् त? वा सधैं दिने र शून्य पाउनेमा

मात्र परिन्! म सोचमग्न हुन्छु। हामी पहिला साना थियौं, के कस्तो माया गर्ने वा निभाउने बुझ्दैन थियौँ। अहिले ठूला भयौं, आफ्नो कार्य क्षेत्रमा

व्यस्त छौं। सधैँ सँगै हुने त आमा र बुवा मात्र हुन्। हामी त कहीले काहीँका पाहुना न हौं। अनि के बुवाले सधैं आमालाई हामीलाई गरे जत्तिकै

माया गर्नुभयो त? माया यो अर्थमा कि हरेक घरायसी काममा साझेदारी, हरेक निर्णयमा अधिकार, हरेक जटिलतामा सहजिकरण। मुखले माया

गर्छु भनेर मात्र त कहाँ माया जनाइन्छ र? सायद विभेद जन्य व्यवहार भोग्दै आउनु भयो आमाले बुवाबाट नै र हामी पनि त्यस्का साँची भयौं। अर्थात्

विभेदमा समर्थन जनायौं। अनि आमाको मुख हेर्ने दिनमा वा जन्मदिनमा हर्षोबढाइ गर्दैमा मात्र सबै विभेदहरु माफ हुन्छन् र? फेसबुक नचलाउने

आमाका फोटाहरु तिनै फेसबुकमा पोस्टाएर मात्र र गुलिया मिठा दुईचार शब्द लेख्दैमा ती तिता विगतहरु भुलिन्छन् र हामी तीन जना थियौं घरमा

ठुल्दिदी, सान्दिदी र म। हाम्रो कपडाको पसल थियो। घरमा भैंसी थियो, अन्न बाली लगाउने टन्न खेत र बारीहरु थिए। हामी हुर्कँदै थियौं। हामीलाई

स्कुल पठाउने स्याहार सुसार गर्ने पनि छुट्टै ज़िम्मेवारीमा पर्थ्यो। पाहुना आउँथे, बारम्बार उनको सत्कार पनि गर्नै पर्थ्यो। घर ठूलो थियो। माथिदेखि

तलसम्म लिपपोत गर्दा नगर्दै बिहान जान्थ्यो। पँधेरो जानै पर्यो, खाना पकाउनै पर्यो, हाम्रा ड्रेस धुनै पर्यो, जुठा भाँडा माझ्नै पर्यो। पराल थुत्नै पर्यो,

भैंसीलाई घाँस हाल्नै पर्यो। दिउँसो स्कुलमा हामीलाई खाजा पुर्याउनै पर्यो। छुट्टी भएपछि लिन आउनै पर्यो। शनिबार नुहाई धुवाई गर्दिनै पर्यो। यी

सबै तमाम काम कस्का हुन्थे भनेर भनिरहन नपर्ला। बुवा बिहानै पसल खोलेर पसलमा बस्नु हुन्थ्यो। ग्राहकलाई कपडा बेच्ने, पैसा गन्ने र वरपरकासँग

गफ गर्ने जस्ता काममा बुवाका दिन बित्थे। बिहानै बुवालाई पसलमा एक गिलास दूध पुग्थ्यो। बुवाले कहील्यै सोध्नु भएन यो दुध कुन मेहनतले आएको छ भनेर।

हामीलाई स्कुल पठाएपछि बुवाको खाना तयार हुन्थ्यो। मिठो परिकार, ताजा तरकारी र साग अनिवार्य हुन्थ्यो। त्यो पनि कहाँबाट आयो भनेर बुवाले

कहील्यै सोध्नु भएन। दिउँसो खाजामा अनदिका चामलका लट्टे पाक्थे। खुदो मिसाएर मिठो मानी मानी बुवा खानुहुन्थ्यो।कुन जाँगर र पसिनाले त्यो प्राप्त

भयो भनेर कहील्यै कुरा उठेन। बस्! समयक्रम चलिरह्यो। शनिबार जुम्रा हेर्ने देखि बुवाले पिटेर बसेका डामहरु सुम्सुम्याउन समेत आमा काम लागिराखिन्।

बुवा कतै ओझेल परिराख्नु भो। पसलबाट आम्दानी कति भए? कहाँ खर्च गर्ने? कति बचत गर्ने? यस्ता कुरामा आमाले कहील्यै चासो राख्नुभएन र

बुवाले भन्नुपर्छ भनेर सोच्नु भएन। बुवाले जति दिनु हुन्थ्यो त्यही हात थापेर घर चलाउन बाहेक केही तर्क र गुनासो गर्नु हुन्थेन। ढिंकी, जाँतो र पँधेरो

गर्दैमा आमाका आधा जुनि बितिगए। केही फरक मत राखिहालेमा ‘मुख भई भई नाकले पानी खाने’ भन्दै उल्टो जवाफ पाइएला भन्ने पिर आमामा सदैव

भइराख्यो। बुवालाई पनि बाहिर गएर यति अधिकार मैले मेरी श्रीमतीलाई दिएको छु भन्दा ‘स्वास्नीको मुतमा बगेको तँ छिः’ भन्दै हकार्लान् भन्ने पिर।

अझ नछुट्टिँदै सासु ससुरा जेठाजु जेठानीहरुसँग ठूलो परिवारमा बस्दा मेरी आमाले कति दुःख भोगिहोलिन्। र मेरा बा कति दुःखहरु सहने बानी बसाल्नुपर्छ

भन्दै चुपचाप बसे होलान्! अन्दाज मात्र गर्न सक्छौं। जे होस्, नहोस् अहिले हाम्रा यी आँखाले हेर्दा आमामाथि ठूलो विभेद भएको थियो। अरु कोही द्वारा

नभएर बुवाद्वारा। अन्त कही नभएर आफ्नै घरमा। यो विभेद प्रायः नेपाली आमाहरुले प्रायः घरमा भोग्नु पर्यो होला। किनकि बुवाहरु यही समाजका उपज

थिए र हुन्। हाम्रो नेपाली समाजले आमालाई जननीको खँदिलो स्वरुपमा राख्दछ। धर्तीमाता, जन्मभूमि, मातृभूमि जस्ता शब्दहरु खर्चिएर आमाको

श्रेष्ठता बढाइदिन्छ। भावनाको खानी र आँसुहरुको मुहान जस्तै मान्छौं हामीले आमालाई किनकि बुवालाई त दह्रो हुन पर्छ र रुन पटक्कै हुँदैन भनेर समाजले

घोकाएको जो छ। आमा आफैं पनि आफूले पाएका दुःखहरु बुझ्न पछि आमा भएसी नै थाहा पाउलिस् भनेर दिदीहरुलाई हकार्नु हुन्थ्यो। संवेदनाको

विशाल तत्वले भरिपूर्ण भएर के आमाहरुले असल शासन गर्न पाए त? स्वास्नी मान्छेहरु नाटीकुटी हुन्छन् भन्दै घरका कामकाजमामा मात्र व्यस्त

बनाएर बाहिरी भूगोलबाट टाढै राख्न कति सजिलो भयो होला है हाम्रा बाहरुलाई? आज पनि कुनै आधुनिक घरमा ‘मेरी आमा महान् छिन्’ भन्दै

कविता लेखेर प्रथम भएको छोरो घरमा गएर आफ्नो मोजा आमालाई धुन लगाउँछ। ड्रेस फ्याँकेर टिभी हेर्न बस्छ र आमालाई छिटो खाजा

आफ्नो अगाडि ल्याउन आदेश दिन्छ। बुवासँग बसेर चेस खेल्ने बुद्धिमान छोरोले आमा महिनावारी हुँदा पेट दुखी दुखी उस्का ड्रेस धोएको पनि

मज्जाले सहन्छ। टिभी हेर्दा आमाको हातमा रिमोट भएको ऊ सहन सक्दैन तर टिफिन तयार पार्न पाँचै बजे उठ्ने आमाको त्यागलाई मजाले सहन्छ।

आमाले फोन चलाउन सिकाइ माग्दा आफू फेसबुकमा नै अल्झिएर बस्ने छोरो आमाले पत्रिका पढ्न खोज्दा तपाईलाई के आउँछ र? भनेर प्रश्न गर्छ।

बरण्डामा उभिएर आमा छिमेकीसँग गफ गर्दा आफू इरिटेट भएको भनी बाबालाई कुरा लगाउँछ तर क्रिकेट खेलेर घुँडामा चोट लिएर घर आउँदा

आमालाई नै खोज्छ। डाइनिङ टेबलमा बुवासँग रमाउँदै खाना खाने अनि भाँडा माझ्दा आमालाई एक्लै छोडेर टाप कस्ने यो कस्तो बानी हँ छोराको? के

हरेक सन्तानका व्यवहार पनि विभेदीय छैनन् र? सुखमा बुवा रोज्ने अनि दुःख पर्दा आमा खोज्ने? जब महान् भनिएकी, दिव्य करुणायुक्त भनिएकी आमा

बिरामी हुन्छिन् घरमा काम कस्ले गर्ने भनेर हानथाप हुन्छ। झगडा निम्तिन्छ। हरेक घर खुसी हुने भनेको त आमाका हातगोडा चल्दा मात्र हो।

अपवादहरु होलान्, समाज विस्तारै बद्लिँदै पनि छ तर हविगत प्रायः यस्तै छ। आमालाई पूजनीय ठानेर घरको दास बनाउन हामी माहिर छौं।

वृद्धाश्रममा अरुका आमाका दुःख देख्दा आँसु चुहाउने हामी नै हौं तर व्यवहारमा आफ्नै आमाप्रति चुकिरहेका हुन्छौं। जबसम्म बुवालाई मालिक

र आमालाई रैति बनाउने परिदृश्य घरघरमा अन्त्य हुँदैन हामी सन्तान पनि उत्तिकै दोषी हुन्छौं। आमाका योगदानलाई कदर गर्दै हरेक घरका गतिविधि

र क्रियाकलापमा साझेदारी भूमिका दिनुपर्छ। घरबाहिर जत्रै ठूलो व्यापार सम्हालून्, आमासँगै काममा सारिक भएका बुवाहरु नै सफल हुन्छन्।

मानपदवी र कुनै छुट्टै परिभाषा होइन आमाहरु, सहकार्यको खोजीमा छन्। यो अभाव पूर्ति गरौं। देवीलाई हँसिलो बनाइराखौँ।

प्रतिकृया दिनुहोस्