शुक्रबार , साउन १५, २०७८

पौडेललाई भेटेर शेखर कोइरालाले भने- सभापतिमा मलाई सहयोग गर्नुस्

असार १४, २०७८ सोमबार 171

नेपाली कांग्रेसको सभापतिमा उठ्ने बताएका केन्द्रीय सदस्य शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर

फर्केका छन्। पौडेललाई भेट्न कोइराला सोमबार उनकै निवास बोहराटार पुगेका थिए। उनीहरूबीच भदौमा हुने कांग्रेसको महाधिवेशनबारे

कुराकानी भएको थियो। ‘क्रियाशील सदस्यताबारे उत्पन्न विवादलगायत विषयमा नेताहरूबीच कुराकानी भएको हो,’ कोइरालाका स्वकीय सचिव

दिनेशचन्द्र थपलियाले भने। कोइराला बिहान ९ बजे पौडेल निवास पुगेका थिए। स्रोतका अनुसार पौडेल र कोइरालाले एकअर्कालाई महाधिवेशनमा

सहयोग मागेका थिए। पौडेल र कोइराला दुबै कांग्रेसको भावी सभापति उठ्ने तयारी गरिरहेका छन् तर औपचारिक रूपमा घोषणा गरिसकेका छैनन्।

कोइरालाले २०७२ सालमै सभापति उठ्ने बताएका थिए तर उनी अन्तिम समयमा पछि हटे। त्यसबेलादेखि नै पटकपटक सबै जिल्ला पुगेर कोइरालाले

महाधिवेशनका लागि तयारी गरिरहेका छन्। कोइरालाले यसपटक आफू सभापति उठ्ने बताइरहेका छन्। पौडेलले पनि महाधिवेशन केन्द्रित छलफल थालेका छन्।

पौडेल २०७२ सालमा भएको १३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए। उनी एकपटक कांग्रेस सभापति हुन चाहन्छन्।

स्रोतका अनुसार कोइरालाले पौडेललाई भेटेर सभापतिमा आफूलाई समर्थन गर्न भनेका थिए। तर पौडेलले मानेनन्। पौडेलले आफू सभापति हुन चाहेको

उल्लेख गरेका थिए।‘उहाँहरूले महाधिवेशनमा एकअर्कालाई सहयोग गर्नेबारे कुरा गर्नुभयो,’ स्रोतले भन्यो, ‘ठोस सहमति अहिले नै बन्ने कुरा भएन।समय बाँकी नै छ।

महाधिवेशन नजिकिएका बेला नेताहरूसँग भेटवार्ता हुने र एकअर्कालाई सहयोग गर्ने भन्ने कुरा स्वभाविक नै हो।’कोइरालाले पौडेललाई भावी प्रधानमन्त्रीमा

सहयोग गर्न सकिने बताएका थिए। तर पौडेलले आफू सभापति हुने इच्छा गरेको जवाफ दिएका थिए। ‘म पनि सभापतिका लागि तयारी गर्दैछु। साथीहरूसँग छलफल गर्दैछु,’ पौडेलले भनेका थिए।

प्रतिकृया दिनुहोस्