मंगलबार , साउन १२, २०७८

म नछुने होइन, महिनावारी भएकी थिएँ

असार १४, २०७८ सोमबार 38

एक्कासी आकाश गड्किए जसरी मेरो पेट गड्कन थाल्यो
पानीको थोपाले स्पर्श गरे जसरी मेरो शरीर भिज्दै गयो
म नछुने भएकी होइन, म त मेरो पहिलो महिनावारी भएकी थिएँ।

आमा, तिमीले तयार परेको त्यो घामको किरण नछिर्ने कोठामा
गुम्सिरहँदा मनमा अनेकौं कौतुहलता उत्पन्न भए
सायद म पानीको थोपाले भिजेकी भए अछुतो हुने थिइनँ होला
तर दुर्भाग्यवश त्यसबेला म आफ्नै शरीरको रगतको थोपाले भिजिरहेकी थिएँ।

अहँ! म ठुली र सभ्य भएकी थिइनँ
तर मैले त नारी हुनुको पहिलो औचित्य र मानव पुस्ता
अघि बढाउने एउटा जिम्मेवारी पाएकी थिएँ
म नछुने होइन, एउटी पूर्ण नारी भएकी थिएँ

मैले त्यो अँध्यारो कोठामा रजस्वलाको कष्टकर दुखाइ सहिरहँदा
मेरी आमाको हातको न्यानो स्पर्श रोजेकी थिएँ
आफन्तको अप्रिय र अछुतको हेराइ होइन, आत्मीयताको भावना रोजेकी थिएँ
म नछुने होइन, महिनावारी भएकी थिएँ।

प्रतिकृया दिनुहोस्