मंगलबार , साउन १२, २०७८

बिजुली गाडी उत्पादन गर्न ‘एसेम्बल प्लान्ट’ बनाउँदै सुन्दर यातायात

असार १४, २०७८ सोमबार 251

सुन्दर यातायातले नेपालमै बिजुली गाडी उत्पादन गर्न ‘एसेम्बल प्लान्ट’ निर्माण गर्ने तयारी गरेको छ।

चिनियाँ कम्पनी सुच्वा गुहाङ अटो मोबाइल्स, बिएके कम्पनी र युएईको दुबई ट्रान्सपोर्टको सहकार्यमा विद्युतीय सवारी उत्पादन तयारी थालिएको

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।  यातायातको भगिनी कम्पनी सुन्दर अटो इञ्जिनियरिङमार्फत् यो प्लान्ट रूपन्देही जिल्लाको

सैनामैना नगरपालिकामा स्थापना हुनेछ। त्यसका लागि नगरपालिकाले दस बिघा जग्गा उपलब्ध गराएको गराइसकेको छ। ‘प्लान्ट निर्माण गर्न पाँच अर्ब ६०

करोड लागत अनुमान गरिएको छ,’ थापाले भने, ‘निषेधाज्ञा हटेलगत्तै प्लान्ट निर्माण काम सुरू हुनेछ।’ निषेधाज्ञा हटेको छ महिना भित्रमा विद्युतीय सवारी

उत्पादन तथा बिक्री-वितरणकै काम सुरू हुने पनि उनले बताइ। विद्युतीय सवारी आयात गरेर चलाउनुभन्दा आफ्नै देशमा उत्पादन गर्दा सस्तो पर्ने भएकाले

यो काम थालिएको अध्यक्ष थापाले बताए। ‘विद्युतीय गाडी आयात गरेर चलाउनु मात्रै ठूलो कुरा होइन। आफ्नै देशमा एसेम्बल प्लान्ट खोल्न सकियो भने

सानादेखि ठूला सबै सवारी बनाउन सकिन्छ। मूल्य पनि कम पर्छ,’ थापाले भने। उनका अनुसार दुई वर्षअगाडि सुन्दर यातायातले साढे दस मिटरको बिजुली

बस आयात गर्दा एक करोड ७२ लाख रूपैयाँ तिर्नुपरेको थियो। त्यसमा भन्सार, ढुवानी लगायत विविध खर्च जोड्दा थप बीस लाख भार बेहोर्नु पर्‍यो। नेपालमै

उत्पादन हुने भएपछि थप खर्चको भार नपर्ने उनी बताउँछन्। ‘एउटा गाडीको बीसदेखि बाइस लाख रूपैयाँ सस्तो पर्नेछ,’ उनले दावी गरे। आफ्नै देशमा प्लान्ट

बनेपछि सवारी बिग्रिँदा वा पार्टपूर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यता समेत अन्त्य हुने उनको विश्वास छ।  यी सवारी उत्पादन सुन्दर अटो इञ्जिनियरिङअन्तर्गत

हुनेछ भने ब्रिक्री-वितरण सुन्दर ट्रेडर्सले गर्ने सम्झौता छ। मध्यस्थकर्ताको भूमिका सुन्दर यातायातले गर्ने थापाले जानकारी दिए। ‘प्लान्टबाट पहिलो वर्ष तीन सय वटा

सवारी उत्पादन गर्ने योजना छ। त्यसपछि आवश्यकताअनुसार हरेक वर्ष उत्पादन बढाउँदै लैजान्छौं,’ थापाले भने, ‘यसका लागि हामीले लगानी बोर्ड र उद्योग विभागसँग

सहकार्य गरेर प्रक्रिया टुंग्याएका छौं।’ अवस्था सहज हुँदै गएमा पार्टपूर्जा आयात गरी वार्षिक एक हजार गाडी उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। विद्युतीय सवारी

विदेशमा निर्यात हुने वातावरण मिल्यो भने लगानी बढाउने र सोहीअनुसार उत्पादन पनि बढाउने थापाले बताए।  ‘प्रत्येक वर्ष एक हजार गाडी उत्पादन गर्ने हो

भने आठ अर्ब पचास करोडदेखि नौ अर्बसम्म लागत लाग्ने अनुमान गरेका छौं। तर हाम्रो बजार सानो छ। उत्पादन गरेर विदेश निर्यात गर्न सकियो भने त लगानी

बढाइन्छ। नेपालका लागि मात्रै उत्पादन गर्ने हो भने पाँच अर्ब ६० करोड लगानीले पुग्ने अनुमान हाम्रो हो,’ उनले भने।  प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इञ्जिनियरिङ

र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने उनले बताए।  कम्पनीका प्रतिनिधिले प्लान्ट निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर समेत छलफल गरिसकेको

अध्यक्ष थापा बताउँछन्। ‘सम्बन्धित कम्पनीका प्रतिनिधि तथा इञ्जिनियरहरूसहितको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरिसकेको छ। उहाँले आवश्यक सहजीकरण

गर्न तयार रहेको बताउनुभएको छ,’ उनी भन्छन्, ‘उहाँको प्रतिक्रियाले थप उत्साह र जोस-जाँगर पलाएको छ। सकेसम्म हामी प्रधानमन्त्रीबाटै प्लान्टको शिलान्यास गर्छौं।’

प्लान्ट निर्माण भएपछि देशमा थप तीन सय रोजगारी सिर्जना हुने उनले बताए। कम्पनीले विस्तारै विद्युतीय सवारीका लागि अतिआवश्यक ब्याट्री प्लान्ट समेत ल्याउने तयारी

गरेको छ। यसो भएमा ब्याट्री बिग्रिएको खण्डमा वा ब्याट्री फेर्न निकै सहज पुग्ने उनको विश्वास छ। त्यसैगरी रूपन्देही जिल्लामै विद्युतीय स्कुटर तथा बाइक उत्पादन

प्लान्ट निर्माणको योजना बनाउन थालिएको पनि थापाले जानकारी दिए। विदेशबाट पार्टपूर्जा आयात गरी मोटरसाइकल तथा स्कुटर उत्पादन गरेर सुपथ मूल्यमा बिक्री-वितरण गर्ने योजना कम्पनीको हो।

 

प्रतिकृया दिनुहोस्