मंगलबार , साउन १२, २०७८

बच्चालाई तोरीको तेलले फाइदा गर्दैन भनेर हामीले क्रिम त दलिरहेका छैनौं?

असार १९, २०७८ शनिबार 874

म हरेक दुई हप्तामा कानमा तोरीको तेल हाल्छु। हरेक हप्ता म शरीरभरि तेलले मालिस गर्छु। हरेक राति सुत्नु भन्दाअघि खुट्टाको पैतालामा तेल लगाउँछु।

जाडोको बेलामा अलि बढी नै तेल पैतालामा लगाउँछु। जाडोको बेलामा अलि बढी नै तेल पैतामा लगाउँछु र सुतीको मोजा लगाएर सुत्छु। कपाल नुहाउनुभन्दा

दुइ घण्टाअघि तेल, दही, कागती मिसाएर कपालमा लगाएर दुई घण्टापछि नुहाउँछु। यो सबै गर्दा मलाई धेरै पैसा लाग्दैन। अनेक थरीका बाहिरबाट ल्याएका

महंगा क्रिमले जिउ र खुट्टा मोल्नु पर्दैन। कपालमा चाया पर्‍यो भनेर अनेकथरीका महंगा स्याम्पु पनि प्रयोग गर्न पर्दैन। हो, मेरो कपाल टिभीमा देखाएजस्तो

सलल परेको छैन तर स्वस्थ छ। म त्यसैमा सन्तुष्ट छु। सबभन्दा महत्वपूर्ण कुरा तोरीको तेल लगाउँदा मेरो शरीर स्वस्थ रहेको छ, त्यसले गर्दा मनमा फुर्ती

पनि छ। यसको अर्थ मेरो खर्च पनि केही बचेको छ। मसाजले गर्दा शरीरमा आनन्द भएपछि निद्रा पनि राम्रो लाग्छ र यसले गर्दा रोगसँग लड्ने शक्ति पनि बढाउँछ।

निद्रा लागेपछि जिउको आलस्य पनि कम हुन्छ। मजासँग भोक लाग्छ। अर्थात्, रोगसँग लड्ने शक्ति मिल्छ। कोरोनाकालमा रोगसँग लड्न शक्ति बढ्नु भनेको एक

कोरोनाको संक्रमणबाट बच्न केही मद्दत पुग्नु हो। केही दिनअघि मैले बालबालिकालाई ‘पाउडर होइन, तेलले मालिस गर्नुपर्छ’ भन्ने एक लेख लेखेपछि धेरै

जनाको धेरै विचार आयो। ‘तोरीको तेलले बच्चालाई एलर्जी गर्छ, स्वास्थ्यकर्मीले तोरीको तेल नलगाउनू’ भनेर एक व्यक्तिले मलाई भन्नुभयो। मैले भनें, ‘हो बच्चालाई

तोरीको तेलले समस्या गर्छ भनेर थाहा छ। नेपालमा सायद कसै-कसैलाई एलर्जी गर्न सक्छ। त्यो बेलामा प्रयोग नगर्ने। नत्र तोरी, नरिवल, तिलको तेलले मसाज

गरे हुन्छ। तर, तेल मात्र लगाएर मालिस चाहिँ नगर्ने अनि सफा नगरेर गुम्स्याएर राख्ने र सफा नगरी चिसो लाग्छ भनेर तेलको लेप मात्र थपिदिने, तालु पुर्नलाई भनेर

तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउनेजस्ता चलनले चाहिँ बेफाइदा गर्छ।’ यसबारेमा डा. समिर

लामाले मलाई लेख्नुभयो। उहाँले भन्नुभयो, ‘यो कुरासँग म सहमत छु। तेल लगाउँदैमा तेलको गन्ध आउँदैन तर सफा नगरे चाहिँ गन्ध आउँछ। गाउँघरमा सुत्केरी र

नवजात शिशुले तेल लगाएर सफा नभएकोले कोठा नै गनाउँछ। किनभने सुत्केरीलाई चिसो लाग्छ भनेर झ्याल ढोका थुनेर राखिन्छ। यसले गर्दा सास सम्बन्धी र

छालाको संक्रमणको खतरा बढ्ने भएकोले सायद केही स्वास्थ्यकर्मीले तेल लगाउन प्रोत्साहन नगरेको हुन सक्छ।’त्यसैगरी तालुमा तेल पटक-पटक लगाउने, गुम्स्याउने

गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ। त्यो ढुसी भएपछि संक्रमण हुन्छ। गाउँघरमा सबै जनालाई बुझाउनु पर्छ कि तेलको लेपले तालु पुरिने नि हैन, तालु केही

समयपछि आफैं पुरिन्छ। टाउकोमा विस्तारै तेलको लेप गर्ने मालिस गर्ने हो, तेलको लेप लगाएर छोड्ने हैन। त्यसमाथि पनि बन्द कोठामा कोइला, आगो बालेर तेल

थोपर्दा त संक्रमण र निमोनिया हुने जोखिम झन् बढ्न सक्छ। खुला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस सकिएपछि बच्चालाई नुहाउने वा मनतातो

पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ। नत्र तेल गनाउँछ। अनि लुगामा पनि लाग्छ र त्यो लुगा धुँदा पनि तेलको गन्ध रहिरहन्छ। टाउकोमा तेलको लेप लगाएर

टोपीले छोप्ने गर्नुहुन्न। विदेशी भूमिमा चाहिँ अनेकथरीका क्रिमले बच्चालाई मसाज गर्न प्रेरित गर्ने हामी नेपालीहरू आफ्नो हजारौं वर्षको परम्परागत ज्ञान ‘तोरी, तिल,

बदाम आदिको तेलले मसाज गर्नुपर्छ’ भन्दा ‘तोरीको तेल ठिक हुन्न’ किन भनेको बुझिनसक्नु छ। म त हजुरआमाले लगाएको तोरीको तेल लगाएर हुर्कें,

अहिलेसम्म म तेल लगाउँछु। मेरी छोरीहरूलाई पनि लगाएँ। तर, यसो गर्दा आमा बच्चा दुबैलाई नियमित सफा गर्नु जरुरी छ। तेलले मालिस गरेपछि यदि नुहाउन

सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ। पछि सुत्केरी तंग्रिएपछि तातो पानीले नुहाए हुन्छ। यसले मन र शरीरमा ताजापन ल्याउँछ।

‘सयौं-वर्षौंदेखि चलेको हाम्रा राम्रा चलन छन् तर तिनका फाइदा, वैज्ञानिक कारण बुझेर सही तरिकाले प्रयोग गर्दै अघि बढ्दा राम्रो हुन्छ,’ डा. समिर लामाको

कुराले मन छोयो। त्यसैगरी, बालबालिकाको जिउमा घाउ भयो भने निमको पात उमालेर त्यो पानीले जिउ नुहाइदिने पुरानो चलन नै हो पनि बिर्सिएर अहिले

अनेकथरीका साबुन प्रयोग गरिन्छ। निमको पातमा विभिन्न किटाणुविरूद्ध लड्ने शक्ति हुन्छ। त्यसैले, बच्चाहरूलाई निमको पात उमालेर त्यसको पानीले

नुहाइदिए हुन्छ। प्रसिद्ध वैज्ञानिक डा. वन्दना शिवाले ‘निम’ नामक किताबमा लेखेकी छिन्, ‘निमको यो ज्ञान हाम्रो पुर्खाहरूलाई हजारौं वर्षदेखि नै थियो।

अहिले विस्तारै त्यो हराउँदै गएको छ।’ आधुनिक भएर घरमा निमबाट बनेको साबुन चाहिँ हामी प्रयोग गर्छौं। तर घर आँगनमा रहेको सित्तैमा पाइने निमको

पातलाई चाहिँ ‘पुरातनवादी’ भनेर प्रयोग गर्न हिचकिचाउँर्छौं। ‘निम धर्तीको अमृत माने पनि हुन्छ’ भन्ने कुरा डा. वन्दना शिवाले भनेकी थिइन्। बच्चाहरूलाई

‘पेटमा’ जुका पर्‍यो भने निम, तितेपातीको रस पनि प्रयोग गर्न सकिन्छ। जिउमा घाउ खटिरा भए पनि तितेपाती पानीमा उमालेर मनतातो भएपछि त्यो पानीले

बच्चालाई नुहाइदिँदा वा त्यो पानीले घाउ सफा गर्दा बच्चाको घाउ विस्तारै कम हुन्छ। नेपालका विभिन्न ठाउँमा पाइने तितेपातीको बोटको प्रयोग वास्तवमा

राम्रोसँग हुनै पाएको छैन। उत्तम बज्राचार्य नामक एक व्यक्तिले मलाई भन्नुभयो, ‘तितेपातीको तेल १५ हजार लिटरमा जापानमा जान्छ।’ उहाँको यो भनाइलाई मैले

धेरै तालिममा भनेपछि मात्र विस्तारै तितेपातीको महत्व मानिसले बुझ्न थालेका छन्। तोरी, निम, तितेपाती आदिको प्रयोग हाम्रो समाजमा हजारौं वर्षदेखि हुँदै आए

पनि अहिले त्यो चलन हराउँदै गएकोले फेरि पुनर्जागरण गरी बहस चलाउने कि? यस्ता वनस्पतिहरूलाई स्याहार गरेर प्रयोग गर्नुको अर्थ स्वास्थ्य राम्रो पार्नु हो।

पैसा बचाउनु हो र वातावरण पनि स्वस्थ पार्नु हो। तराईतिर र पहाडमा निम, तितेपाती आदि सहजैसँग पाइन्छन्। पैसा तिर्न पर्दैन। तोरीको तेलले मसाज गर्दा कसैलाई

पैसा तिर्न पर्दैन। विदेशमा भने तिर्नपर्छ। तेल लगाएर अलि सफाइ मात्र गर्नुपर्छ। यस्तो स्वस्थ परम्परा, जसले हामीलाई स्वस्थ बनाएर पैसा जोगाउँछ, वातावरणको रक्षा गर्छ, त्यस्तो ज्ञान किन अंगिकार नगर्ने त?

प्रतिकृया दिनुहोस्