शुक्रबार , साउन १५, २०७८

अनलाइन कक्षाले बालबालिकामा परेको असर र ध्यान दिनैपर्ने कुरा

असार ३०, २०७८ बुधबार 178

अहिले परिस्थिति एकदम डरलाग्दो छ । हाम्रो हातमा नभएका कुराहरु भइरहेका छन् । यसले सबै खालका उमेर समूहका मानिसलाई असर पारेको छ,

त्यसमा पनि थोरै कुरा बुझ्न सक्ने, भइरहेको परिस्थिति बुझ्न नसक्ने विकासात्मक तहलाई हेर्दा कमजोर बालबालिकालाई समेत अन्योल बनाएको छ । उनीहरुमा डर त्रास हुनु,

फरक परिस्थिति किन भइरहेको हो भन्ने कुरा उनीहरुबाट आइरहेको हुन्छ । यतिबेला उनीहरुलाई कहिले स्कुल खुल्छ, भाइरस सर्छ, बिरामी परिन्छ लगायतका कुरा मनमा आइरहेको देखिन्छ ।

बालबालिकाहरु डर त्रासमा नै छन् । उनीहरुका लागि यो पूर्ण नयाँ तरिका जस्तो भएको छ । पहिला खाना खाने,  स्कुल जाने, पढ्ने, साथीसँग खेल्ने, घरमा आएर होमवर्क गर्ने,

अभिभावकसँग कुरा गर्ने, खाना खाने अनि सुत्ने काम गर्दा  उनीहरुको दैनिक नै फरक हुन्थ्यो । रुटिन नै फरक हुन्थ्यो । अहिले २४ घण्टा कम्प्युटरमा बस्नु परेको छ, ग्याजेटसँगै बस्नु परेको छ ।

अतिरिक्त क्रियाकलाप पनि हुँदैनन् । अभिभावकका आआफ्ना काममा जानुपर्ने बाध्यता हुन्छ, बालबालिकाहरु एक्लै बस्नु पर्ने हुन्छ । आफ्नो साथीसँग कक्षा भएको समयमा एकैछिन मात्रै भेट हुन्छ,

मोबाइलमार्फत । उनीहरुको साथी नै मोबाइल लगायतका ग्याजेट भएको छ । उनीहरुमा प्रविधिको ‘ओभर युज’ भइरहेको छ । जसले गर्दा उनीहरुमा आउने प्रायः शारीरिक तथा मानसिक सबैखाले असर देखिन्छ ।

ओभर प्रयोगका कारण कारण बालबालिकालाई अन्य कुरामा ध्यान केन्द्रित गर्नलाई गाह्रो बनाउँछ । मोबाइल ल्यापटप  लगायतका ग्याजेटको स्क्रिन तथा पोग्राम यति छिटो चल्छ

कि सामान्य मानिसले गर्ने क्रियाकलापदेखि नै बालबालिकालाई झ्याउ लाग्न थाल्छ । अध्ययनहरुले पनि यस प्रकारको समस्यालाई धेरै देखाएको छ । ग्याजेटको तुलनामा मानिसले बोलेको

उनीहरुलाई निक्कै ढिला लाग्छ । जसको कारण उनीहरुलाई कुनै कुरामा ध्यान लगाउन नै गाह्रो पर्छ ।मोबाइलको स्क्रिन छिटो चलेजस्तै उनीहरुलाई छिटो चलाउने वा चल्ने बानी परिसकेको हुन्छ ।

कुराहरु छिटोछिटो सुनिहालौँ भन्ने खालको सोचाइ हुन्छ । हामीले बिस्तारै कुरा गर्दा उनीहरुलाई बोरिङ हुन्छ । त्यस्तै कार्टुनमा कति छिटो बोल्छ कति छिटो चल्छ जुन सामान्य जीवनमा हुन सक्दैन ।

उनीहरुले त्यही खोज्ने भएकाले लामो समय सम्पर्कमा बस्न सक्दैनन् । उनीहरुमा धैर्य गर्न सक्ने क्षमता नै हुँदैन ।अर्कोे बालबालिकाको सामाजिकीकरणमा पनि समस्या भएको छ ।

उनीहरु सामाजिकीकरणको क्रममा आवश्यक पर्ने समस्या समाधान गर्ने पक्षबाट पनि वञ्चित भएको पाइएको छ । विद्यालय नगइ भर्चुअल विधिमार्फत अध्ययन गर्दा उनीहरुको समग्र

विकासलाई नै असर पुगेको छ । तर उनीहरुसँग अन्य गर्ने कार्यक्रम नै नभएका कारण पनि उनीहरुमा भइरहेको समस्याबारे उनीहरुलाई नै जानकार भएका हुँदैनन् ।

अभिभावकले बालबालिकाहरु मोबाइल, टीभीमा भुलिरहेका छन्, हामीहरुले आनन्दले आफ्नो काम गर्न पाइरहेका छौँ भनेर ढुक्क मान्छाैँ । अर्कोतिर उनी हले के गर्ने भन्नेबारे सोचेका पनि हुँदैनन् ।

अभिभावकले हामीलाई ढुक्कले छाडिदिनु भएको छ, हामीले गर्ने काम नै यही रहेछ भन्ने बालबालिकाले सोच्ने गर्छन् । उनीहरुले अरु विकल्प नै खोज्दैनन् । अरु के कुराले आफूलाई खुसी बनाउँछ भनेर नै खोज्नै चाहँदैनन् ।

साथीहरुलाई भेट्न नपाउँदा पनि उनीहरुलाई तनाव बढाएको हुन्छ । कस्तो बोर लाग्छ अनलाइन क्लास भनेर बालबालिकाले नै भन्ने गरेको सुनिन्छ ।

आफ्नो मन पर्ने साथीसँग  अनलाइनमा अनुहार मात्रै देखिने तर अन्तरक्रिया गर्न नपाउँदा पनि उनीहरुमा समस्या आएको देखिन्छ । उनीहरुलाई त्यस कुराको अभाव भइरहेको हुने रहेछ ।

अनलाइनमा फोटो मात्र देखिने, तर कुराकानी गर्न नपाउँदा पीडा हुने अनुभव बालबालिका स्वयं बताउँछन् ।ठूलो उमेरका मानिसमा पनि लगातार कम्प्युटर वा ल्यापटपमा बसिरहँदा वा पोग्राम गर्दा अप्ठ्यारो हुने,

के गरौँ कसो गरौँ हुने लगायतका एन्जाइटीका समस्या आइरहेको देखिन्छ । ड्रग्स अल्कोहलले जसरी लत बस्छ त्यसरी नै कम्प्युटर लगायतको पनि लत बस्छ ।

लत बस्दा जे जे कुराको समस्या देखिन्छ त्यसका सबै प्रकारका लक्षणहरु यसका कारण पनि देखा पर्छन् । अनलाइन कक्षाले अहिले बालबालिकामा एन्जाइटी बढाउने काम गरिरहेको छ ।

बालबालिकाकहरुले आफूमा भएको क्षमता केही न केही माध्यममार्फत निकालिरहेका हुन्छन् । कथा पढेर, कविता लेखेर वा साथीसँग घुलमिल गर्ने, खेल्ने गरेर आफ्नो तनाव व्यवस्थापन गरिरहेका हुन्छन् ।

नजानी नजान पनि उनीहरुले यी उपायहरु गरिरहेका हुन्थे । त्यसैले समस्या समाधान हुन्थ्यो । अहिले उनीहरूले यस्तो अवसर पाएका छैनन् । नयाँ  वातावरणमा नयाँ तरिकाले सिक्नु परेको छ ।

घरभित्रै बस्नु परेको छ । साथीभाइबाट टाढा भएका छन्। जसले झनै तनाव बढाएको छ । क्रिएटिभ काममार्फत तनाव कम गर्ने वातावरण नपाएपछि यस्ता समस्या देखिने गर्छ । यसले गर्दा एन्जाइटीको समस्या बढाइरहेको छ ।

सामान्यतया ग्याजेटमा लगातार हेरिरहँदा उनीहरुको शरीरको अवस्था मिलिरहेको हुँदैन । उनीहरुले मिलाएर बस्न जानीराखेका हुँदैनन् । हलचल नगरि लामो समयसम्म एकै ठाउँमा बस्दा यताउता चलि राख्न सक्दैनन् ।

यसले गर्दा फ्लेक्जिवल भइरा्खुनपर्ने शरीरका पार्टहरु हलचल हुन पाउँदैनन् । यसले गर्दा घाँटीको मांशपेसी दुख्ने, टाइप गर्दा हात दुख्ने, टाउको दुख्ने समस्या देखिरहन्छ  ।

बाहिर नजाँदा घाममा नबस्दा  भिटामिन ‘डी’को  समेत कमी भइरहेको हुन्छ ।  अनलाइन लगायतका प्रविधि अहिलेको अवस्थामा वरदान जस्तै भएका छन् ।

यति नगरेको भए अझै धेरै अप्ठ्यारो परिस्थिति आउन सक्थ्यो होला । अनलाइन कक्षा असामान्य परिस्थितिमा बाध्यात्मक छ । संसारभरि यसैको प्राक्टिस भइरहेको छ ।

बाध्यतावश करिब एक डेढ वर्षदेखि, बालबालिकाहरु घरभित्रै बसेर अनलाइन कक्षा लिइरहेका छन् ।  यस अवधिमा उनीहरुमा आएको परिवर्तनबाट यसको असर थाहा पाउन सकिन्छ ।

पहिला सामान्य रहेको बच्चा झिझिने, समयमा नसुत्ने, बाहिर जान नमान्ने खालका बानी व्यवहार परिवर्तन हुँदै आएको छ । शान्त बच्चा आत्तिएको,छटपटिएको छ ।

मन दु:खी बनाइराख्ने, अन्तरक्रिया गर्न नमान्ने, मोबाइल, ल्यापटाइप चाहियो, रिसाउने भनेर झगडा गरिरहने लगायतका लक्षण स्वतः मानसिक स्वास्थ्य समस्याका लक्षणहरु हुन् ।

समस्या समाधान कसरी ?

अनलाइन कक्षासँग मात्रै सम्बन्धित कुरा हैन यो, परिस्थिति नै त्यस्तै छ । यो त बाध्यता हो । अनलाइन कक्षाबीच हुने ब्रेक तथा क्लास सकिसकेपछिको समयमा उनीहरुलाई रमाइलो हुने,

उनीहरुले मन पराउने खालका अन्य कार्यक्रम बनाइदिन सकिन्छ ।बालबालिका स्वयंले मलाई काम दिनुहोस् भनेको पनि सुनिन्छ । यस्तो बेलामा उनीहरुले गर्न सक्ने काम लगाउन सकिन्छ ।

साथै अभिभावकले उनीहरुका लागि समय छुट्याइदिनुपर्छ । यो परिस्थिति सधैँ रहिरहँदैन । चाँडै नियन्त्रणमा आउला । त्यति बेलासम्मको लागि उनीहरुसँग घुलमिल हुने खालका काम तथा खेलकुद गर्न सकिन्छ ।

उनीहरुलाई हाँस्न खेल्न लगाउने, कथा भन्ने, लेख्न लगाउने लगायतका क्रियाकलाप गर्न सकिन्छ । यसरी अभिभावकको फुर्सदको समयमा बालबालिकासँगै रहेर विभिन्न

क्रियाकलाप गर्दा उनीहरुमा देखिएका समस्या हट्दै जान सक्छन् । विद्यालयमा जसरी हाल्फ टाइम छुट्याइएको हुन्छ, बालबालिकाको लागि घरमा पनि त्यस्तै वातावरण बनाइदिनु पर्छ ।

कतिपय अभिभावकमा मोबाइल र कम्युटर हेर्न थालेपछि घरभित्र बालबालिका घरभित्रै बसिरहेका छन्, हेर्न त परेको छैन, भुलिरहेको छ भन्ने खालको सोचाइ रहेको पाइन्छ ।

बाहिर दुनियाँमा पनि रमाइलो छ है भन्ने कुरा बालबालिकालाई बुझाइरहनु पर्ने हुन्छ । बालबालिकाले त्यो बुझेकै छैनन्, त्यही कारण बाहिर जान उनीहरु मान्दैनन् ।

जसका लागि अभिभावक आफैँ सचेत भएर उनीहरुलाई मनाउन सक्नुपर्यो । बालबालिकालाई तिमीले यस्तो गर्यौ भने म यस्तो पुरस्कार दिन्छु भनेर पनि बाहिरको वातावरण घुलमिल गराउने कोशिस गर्नुपर्छ ।

यस्ता कुरालाई सानैदेखि बानी लगाउनु पर्छ । उमेर बढ्दै गएपछि यस्ता कुरामा बानी लगाउन गाह्रो हुन्छ । यस कुरामा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

अभिभावकसँगै शिक्षकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । अहिलेको परिस्थितिमा शिक्षक आफैँ पनि तनावमा हुनुहुन्छ । शिक्षक तनावमा रहेको अवस्थामा बच्चामा पनि यसको असर देखिन सक्छ ।

नयाँ प्रविधिसँग आफूलाई मिलाउन उहाँहरुलाई निक्कै अप्ठ्यारो भइरहेको देखिन्छ । यसमा उमेर समूह अनुकूल पनि फरक पर्छ । नयाँ पुस्ताको शिक्षक हुनुहुन्छ भने

उहाँले स्थिति अनुसार प्रविधिको प्रयोग गर्न सक्नुभएको छ, तर पुरानो पुस्ताका शिक्षकले प्रविधिको प्रयोगकै विषयले तनाव लिइरहनु भएको देखिन्छ ।

शिक्षकहरु अभिभावक भएको नाताले यस्तो परिस्थिति सधैँ हुदैन, यसलाई समाधान गर्नुपर्छ भन्ने सोचेर तनाव व्यवस्थापन गर्नुपर्छ । बालबालिकाको समस्यालाई कम गराउनका

लागि ४५ मिनेटको कक्षालाई तीन भागमा विभाजन गरेर उनीहरुलाई पीटी गराउने, जिउ चलाउन लगाउने, पानी खाएर आउ लगायतका काम अह्राउन सकिन्छ ।

अर्को कुरा देखिराखेको साथीसँग बोल्न नपाउँदा धेरै चित्त दुखाउँछन्, बालबालिकाले । उनीहरुका लागि समूह विभाजन गराएर आफ्ना मन पर्ने साथीसँग कुराकानी गर भनेर एकछिन समय निकाल्न सकिन्छ ।

पाँच मिनेट गफ गर भनेर छाड्न सकिन्छ ।त्यसबीच भएका महत्त्वपूर्ण कुरा कक्षामा भन भनेर लगाउन सकिन्छ । यसरी गराउँदा बालबालिकाको सहभागिता पनि हुन्छ, उनीहरु रमाउँछन् पनि ।

अनलाइन कक्षाको असरले उनीहरुमा मानसिक, शारीरिक समस्या देखा पर्छ भने हामीले पढाइ पढाइ मात्रै भनेर पनि हुँदैन । शिक्षकसँग पनि बालबालिकाले अन्तरक्रिया गर्न सक्छन् । प्

रविधिको प्रयोगले नयाँ कुरा पनि सिकाएको छ, लेक्चरको अलावा कुनै भिडियो वा अडियो क्लिप सुनाएर पनि पढाउन सकिन्छ भन्ने कुरा प्रयोगमा आएको छ ।

यस्ता भिडियोबारे भन भन्दा पनि यसले उनीहरुलाई रमाइलो गराउँछ, चिन्ता घटाउन मद्दत पुर्याउँछ । पढाइ पढाइ भन्ने गरेका कारण पनि बालबालिकाहरु अनलाइन कक्षा बस्न नमान्ने गर्छन् ।

यस्ता कुरामा ध्यान दिए परिस्थितिलाई समाधान गर्न सकिन्छ, उनीहरुको तनावलाई पनि व्यवस्थापन गर्न सकिन्छ ।यो गाह्रो अवस्थालाई पार गर्न सकिन्छ । साथै सरकारी पक्षले शिक्षकहरुलाई पनि नयाँ

प्रविधिमार्फत कसरी पढाउने प्याकेज पोग्राम बनाइदिए परिस्थिति अनुकूल सहज हुने थियो । प्रविधिको प्रयोगको ज्ञान कम भएका शिक्षकले

तालिम पाएमा निक्कै सहज हुने थियो । शिक्षकहरुले तनाव व्यवस्थापन गर्न सक्नु हुन्थ्यो, जसको सकारात्मक प्रभाव बालबालिकालाई पनि पर्न सक्थ्यो ।

प्रतिकृया दिनुहोस्