शुक्रबार , साउन १५, २०७८

अमेरिकी उच्च अधिकारीहरूको भेटवार्ता प्रस्ताव लत्याउँदै चीन

साउन ७, २०७८ बिहिबार 163

काठमाडौँ: पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध चिसिएको छ । सम्बन्ध सुधारका संकेतहरू देखिएका छैनन् । ह्वाइट हाउसमा राष्ट्रपति परिवर्तन हुँदा पनि एसियाली शक्तिसँगको सम्बन्ध उस्तै छ ।

यद्यपि अमेरिकाबाट चीनसँग उपल्लो तहमा कुराकानी गर्ने प्रयास भइरहेको तर चीनले वास्ता नगरिरहेको बताइएको छ । यो दाबी, बेलायती अखबार फाइनान्सियल टाइम्सको हो । हालै अमेरिकी उपविदेश मन्त्री

वेन्डी सेरमनले चिनियाँ समकक्षीसँग कुराकानी गर्न चाहेको तर चीनले नमानेको टाइम्सले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा दाबी गरेको छ । गत मार्चमा अलास्कामा अमेरिका र चीनबीच औपचारिक वार्ता भएको थियो ।

जहाँ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेन र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिब्युरो सदस्य याङ जिएचीले आ-आफ्ना टोलीको प्रतिनिधित्व गरेका थिए । त्यस छलफलपछि अमेरिका र चिनियाँ उच्च अधिकारीबीच कुराकानी

भएको छैन । त्यसकारण सेरमन र चिनियाँ समकक्षी ले युचेङबीचको भेट ‘अलस्का टक’ पछिकै उपल्लो तहको छलफल हुने थियो । तर चिनियाँ सरकारले सेरमनलाई युचेङसँग नभई साई फेङसँग

भेट्न भनेको टाइम्सको दाबी छ । फेङ चिनियाँ विदेश मन्त्रालयमा पाँचौ वरियताका कर्मचारी हुन् । जो चिनियाँ विदेश मन्त्रालयमा अमेरिका डेस्क सम्हाल्छन् । उता, अमेरिकी विदेश मन्त्रालयले सेरमनको चीन

भ्रमणबारेमा केही खुलाएको छैन । तर टाइम्सका अनुसार उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण सकेर चीन जाने योजना बनाएकी थिइन् ।

चीनले अमेरिकी अधिकारीहरूको भेट प्रस्तावलाई नकारेको यो पहिलो\पटक होइन । केही महिनाअघि अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले चिनियाँ जेनरल सु झिलियाङसँग भेट्न खोज्दा पनि चिनियाँ

सरकारले अनुमति दिएको थिएन । झिलियाङ चिनियाँ सेन्य नेतृत्वमा राष्ट्रपति सि चिनफिङपछिका सबैभन्दा उपल्लो अधिकारी हुन् । बरु चीनले अमेरिकी रक्षा मन्त्रीलाई आफ्ना रक्षा मन्त्रीसँग भेट गर्न प्रस्ताव राखेको थियो ।

चीनमा समग्र सैन्य फौजको कमाण्ड गर्ने ‘सेन्ट्रल मिलिटरी कमिसन’को वरियतामा झिलियाङ रक्षा मन्त्री भन्दा माथि हुन्छन् ।

चीनको पछिल्लो क्रियाकलापलाई जर्जटाउन विश्वविद्यालयका चीन विज्ञ इभान मेडैरोसले चिनियाँ सरकारको ‘खेल’को संज्ञा दिएका छन् । ‘चीनले खतरनाक खेल खेलिरहेको छ ।

यसले दुई मुलुकबीचको दूरी बढाउँछ । सँगसँगै तनाव पनि बढ्नेछ । विगतमा सधैँ एकै वरियतामा रहेका अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ता हुँदै आएको छ । अहिले आएर त्यस्तो

परम्परालाई चीनले भत्काउन खोज्दा स्थिति थप आक्रामक बन्छ,’ मेडैरोसले भनेका छन् । उसो त चीनले अमेरिकी उपविदेश मन्त्री सेरमनले उसको विदेश मन्त्री वाङ यीसँग ‘भिडियो कल’ गर्नसक्ने बताएको थियो ।

तर चिनियाँ सहर तियानजिन नै पुगेपछि सेरमनले ‘भिडियो कल’ मार्फत ‘इन्गेज्ड’ हुनुभन्दा प्रत्यक्ष भेटवार्ता नै गर्न चाहेको बताइएको छ । गत महिना ह्वाइट हाउसका उच्च अधिकारी

कुर्ट क्याम्पबेलले चिनियाँ ‘रवैया’ प्रति दिगदारी व्यक्त थिए । उनले आफूहरूले चिनियाँ राष्ट्रपति चिनफिङसँग नजिक रहेका चिनियाँ अधिकारीहरुसँग भेट गर्न चाहेको तर उताबाट त्यस्तो प्रस्तावलाई

इन्कार गरिने भन्दै रोष प्रकट गरेका थिए । ‘चिनियाँ विदेश मन्त्री र रक्षा मन्त्री चिनफिङसँग नजिक छैनन् । उनीहरूको पहुँच चिनफिङसम्म छैन । यस्तोमा हामी चिनफिङका निकटवर्तीहरूसँग छलफल गर्न चाहन्छौ ।

तर हाम्रो प्रस्तावलाई इन्कार गरिन्छ,’ क्याम्पबेलले भनेका थिए ।हुन त अमेरिकी र चीनबीचको ‘अलास्का टक’को अन्त्य सुखद रहन सकेको थिएन । दुई दिने छलफलको अन्तिम दिन चिनियाँ

टाेली नेता जिएचीले आफूहरूले ‘फलाे अप’ छलफल गर्न चाहेको बताए । तर जवाफमा अमेरिकी विदेश मन्त्री ब्लिनकेनले धन्यवाद मात्रै भने । त्यसपछि जिएची प्रष्ट हुन चाहे र सोधे, ‘यसको मतलब तपाईहरु

चीन आउने हो?’ ब्लिनकेनले जवाफमा भने, ‘धन्यवादको मतलब धन्यवाद नै हो,’ बिल्नकेनको सन्देश थियो, अमेरिका चीनसँग उपल्लो स्तरमा थप कुराकानी गर्न तयार छैन । हो, यहीबाट चीन चिढियो ।

‘सायद चिनियाँहरू अमेरिकालाई सजायँ दिन चाहन्छन् । वा जो बाइडन प्रशासनको परीक्षा लिइरहेका छन् । हुनसक्छ, केही समयपछि चीन आफैँले उच्चस्तरको वार्ताको प्रस्ताव राख्‍नेछ,’

जर्मन मार्सल फन्डमा रही चीनलाई नियालिरहेका बोनी ग्लासर भन्छन् । उता अमेरिकी थिंक ट्याङक ब्रुकिंग्सका रायन हस पछिल्लो घटनाक्रममलाई सामान्य मान्छन् ।

यद्यपि अमेरिकाले चीनसँग भेटवार्ता र आवश्यक छलफल गर्न प्रयास गरिरहने अनुमान गर्छन, त्यहाँका उच्च अधिकारीहरू । ‘हामी प्रत्येक भ्रमणको उदेश्य होस् भन्ने चाहन्छौ ।

र, यस्तो भ्रमण तय हुने बित्तिकै हामी घोषणा गछौँ,’ नाम नबताउने शर्तमा अमेरिकी विदेश मन्त्रालयका एक उच्च अधिकारीले टाइम्सँगको कुराकानीमा भनेका छन् । उनले दुई मुलुकका उच्च

अधिकारीहरु सम्भावित भ्रमणका विषयमा छलफलमा रहेको पनि बताए । अमेरिकाले सेरमनको सम्भावित चीन भ्रमणलाई भविष्यमा हुने विदेश मन्त्री स्तरिय भ्रमणको तयारीका रुपमा हेरेको थियो ।

ब्लिनकेनको बेइजिङ भ्रमणले आउँदो अक्टोबरमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच औपचारिक भेटवार्ता गर्न वातावरण मिलाउन सक्थ्यो । इटालीमा हुने जी-२० सम्मेलनमा दुवै मुलुकका राष्ट्रध्यक्ष सहभागी हुँदैछन् ।

प्रतिकृया दिनुहोस्