जनतालाई केन्द्रमा राखेर काम गर्छु : महान्यायाधिवक्ता खाती
2021, July 20th, Tuesday

Puja Sharma

काठमाडौं : महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू

सधंै जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् ।‘जनतालाई केन्द्रमा राखेर काम गर्छु’, महान्यायाधिवक्ता खातीले भने, ‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’

उनले आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको बताए । धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनिरहेको उल्लेख गर्दै सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गरे ।विधिको शासन, संघीय

लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानूनी सल्लाह दिने बताए । समय र परिस्थिति हेरेर कानूनको पालनासम्बन्धी सल्लाह दिने स्पष्ट पारे ।

जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताए । उनले भने, ‘मैंले काम गर्न सक्छु भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गर्नुभएको छ, म काम गरेर देखाउनेछु ।’

मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताए । उनले भने, ‘मलाई यहाँहरुले सल्लाह सुझाव र निर्देशन दिदै घचघचाइरहनुहोस् ।’

तपाईको प्रतिक्रिया