पालिकाको खर्च घरभाडामै २ करोड
2021, August 22nd, Sunday

Puja Sharma

कालीकोट : जिल्लाका ९ स्थानीय तहले घरभाडामा बर्षेनि झण्डै २ करोड रुपैयाँ खर्च गरिरहेका छन् । खाडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकाले समेत

कार्यालय प्रयोजनका लागि घर नबनाउँदा भाडाको घरबाट सेवाप्रवाह भइरहेको छ । कालीकोटका स्थानीय तहले वार्षिक १० देखि ४० लाख रुपैयाँसम्म घरभाडामा खर्च गरेको कोष तथा लेखा नियन्त्रण

कार्यालयले जनाएको छ । वडा कार्यालयले समेत मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म घरभाडामै रकम खर्च गरिरहेको कोष तथा लेखा नियन्त्रक वसन्त श्रेष्ठले बताए । ९ वटै पालिकाका ८२ मध्ये ५२ वडा

कार्यालय भाडाका घरमा छन् । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाले ४ वर्षदेखि स्थानीय ३ जनाका घर भाडामा लिएर नगरपालिका सञ्चालन गरिरहेको छ । रास्कोट नगरपालिकाले पनि विषयगत शाखा

र ८ वटा वडा कार्यालय भाडाकै घरमा सञ्चालन गरिरहेको छ । नरहरिनाथ, महाबै, पलाता, रास्कोटलगायतका स्थानीय तहका भवन निर्माण सुरु गरे पनि आफ्नै भवनमा कार्यालय सञ्चालन गर्न अझे ३/४ वर्ष

कुर्नुपर्ने अवस्था रहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनले साविकको कुमालगाउँ गाविसको भवनमा गाउँपालिकाले प्रशासनिक काम गरिरहेको भए पनि अन्य शाखा र स्टोर

भाडाका घरमा राख्नुपरेको जानकारी जनाए । सान्नीत्रिवेणी गाउँपालिकाले स्थानीय पंचदेवल मावि र जनचेतना बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरेको ४ वर्ष पुग्यो । पालिका भवनको अझै टुंगो

लागेको छैन । कार्यालय सञ्चालन गर्न अन्यत्र ठाउँ नभएपछि शैक्षिक संस्थाको खाली रहेको भवनमा गाउँपालिका सञ्चालन गरिएको अध्यक्ष डम्मरबहादुर शाहीले बताए । ‘विद्यालय र क्याम्पसलाई समस्या

नपर्ने गरी केही कोठा प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘भवन बनाउन अहिलेसम्म जग्गाको टुंगो लागेको छैन ।’ साविकको मुम्रा, मेहेलमुडी र रकु गाविस मिलेर बनेको गाउँपालिकाको २ नं वडा

बुठिंगेबाहेक अन्य वडाका पनि आफ्नै भवन छैनन् । मुम्रा–८ र ९ का कार्यालय पनि डाँफे मावि मुम्राको भवनमा छ । ठाउँ अभावले दुवै वडाको कार्यालय एउटै ठाउँमा राखिएको शाहीले बताए ।

वडा कार्यालय विद्यालयमा राख्दा पठनपाठनमा समस्या भएको डाँफे माविका प्रधानाध्यापक हिरामणि सिम्खडाले बताए ।त्यस्तै, ७ नम्बर वडाको कार्यालय पनि ३ महिना अघिसम्म ठिगेल्नी आधारभूत

विद्यालयमा राखिएको थियो । विद्यालयबाट ठाउँ साघुँरो भयो भन्ने गुनासो आएपछि वडा कार्यालय सारिएको छ । ८ र ९ का कार्यालय पनि विद्यालयमै छन् । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाले करिब ४

वर्षअघि आफ्नै भवन बनाउन पहल थाले पनि जग्गा अभावमा प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिकाले घर भाडामा मात्र वार्षिक करिब ३० लाख रुपैयाँ खर्च गरिरहेको छ ।

चालु आर्थिक वर्षमा पनि घर भाडाबापत ३० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै, ११ वटा वडा कार्यालयका लागि ५ लाखदेखि ७ लाखसम्म विनियोजन गरेर नगरसभाबाट स्वीकृत भइसकेको छ ।

नगरपालिकाका ११ वडामध्ये दुई वडा (१ र ९) मा मात्र आफ्नै कार्यालय भवन छन् । ५ र ६ नम्बर वडाको बीचमा पर्ने मोल्फामा साविक दाहा गाविसको भवन भए पनि जग्गा विवादका कारण भवन प्रयोगविहीन छ ।

अधिकांश वडाध्यक्षले वडा कार्यालय आफ्नो वा आफन्तको घरमा राखिरहेका छन् । नगरपालिकाले भवन नभएका वडाका लागि मासिक १० हजार रुपैयाँ दिने गरेको नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए ।

उनका अनुसार नगरपालिकाको नाममा साविक मान्म, दाहा र पाखा गाविसका भवन र बसपार्कमा केही जग्गा मात्र छ ।सदरमुकाम मान्ममै संघीय संरचनाअघि बनेको तत्कालीन जिल्ला विकास समितिको चारतले

भवनका अधिकांश कोठा भने खाली छन् । दुई वर्षअघि करिब ८ करोड लागतमा निर्माण सम्पन्न भएको एकीकृत सेवा कार्यालयको भवन पनि स्थानीय तहको नाममा आउन सकेको छैन ।

नगर प्रमुख पाण्डेले भवन नगरपालिकाको नाममा सार्नका लागि काठमाडौं गए पनि सम्भव नभएको बताए । हाल उक्त भवनमा कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ ।

आगजनीपछि ४ करोडको भवन:नेत्रविक्रम चन्दको प्रभाव क्षेत्र मानिने नरहरिनाथ गाउँपालिकाको कार्यालयमा दुई वर्षअघि बन्दको अवज्ञा गरेको भन्दै आगजनी गरिएको थियो । आगलागीबाट क्षतिग्रस्त भवन

मर्मत गरी गाउँपालिका कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ भने नयाँ भवन निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याएर भवन निर्माणको काम थालिएको छ । ४ करोड रुपैयाँको टेन्डर भए पनि

ठेकेदारले घटेर २ करोड ७५ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।‘आगजनीले पालिकाका महत्वपूर्ण कागजात नष्ट भएपछि नयाँ भवनका लागि बजेट आयो,’

उनले भने, ‘हामीलाई त फाइदै भयो ।’ उनका अनुसार गत वर्ष चन्द समूहले आगजनी गरेको माल्कोट सेरापाटास्थित वडा नं ६ को भवन पनि मुख्यमन्त्री रोजगार कार्यक्रमको ४२ लाख रुपैयाँ बजेटबाट सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया