के तालिबानले महिलाको माग सुनुवाइ गर्ला ?
2021, September 5th, Sunday

Puja Sharma

काठमाडौं : २५ वर्षअघि जब तालिबान लडाकु पहिलोपटक सत्तामा आए, उनीहरूले बालिका एवं महिलालाई विद्यालय जानबाट रोके । महिलाहरू घरबाहिर

निस्कँदा अनुहार छोपिने गरी बुर्का लगाउन बाध्य भए । यो नियममा अलिकति पनि तलमाथि हुँदा कठोर सजाय भोगे ।यद्यपि, त्यो स्थिति लामो समय रहेन । १९९६ मा सत्तारोहण गरेका तालिबान

लडाकु २००१ मा सत्ताच्युत भए ।तालिबान लडाकु विदेशी सैनिकको हस्तक्षेपबाट अपदस्थ भएका थिए । तर, यसको कारण ‘महिला अधिकार’ थिएन । अमेरिकालगायत पश्चिमा देशहरूले तालिबानले आतंकवादी

समूह अलकायदालाई संरक्षण गरेको आरोपमा उनीहरूलाई सत्ताच्युत गरेका थिए ।कारण जे भए पनि त्यति बेला तालिबान सत्ताच्युत भएपछि महिलाले पढ्ने–लेख्ने र काम गर्ने अवसर पाए । राजनीतिक अधिकार पाए ।

अफगानिस्तानको सन् २००४ को संविधानले २५० सिट रहेको संसद्को तल्लो सदनमा महिलाको २७ प्रतिशत सुनिश्चितता गर्‍यो । राजनीतिक अधिकार प्रयोग/अभ्यास गर्दै धेरै महिलाहरू मन्त्री, सांसद, मेयर बने ।

सुरक्षा निकायका अधिकारी बने ।तालिबान पहिलोपटक सत्तामा आउनुभन्दा पहिलेका शासकहरूले पनि महिलाको अधिकारको लागि विभिन्न प्रयासहरू गर्दै आएका थिए ।सत्ताच्युत भएको दुई दशकपछि

तालिबान लडाकुले फेरि अफगानिस्तानको सत्ताकब्जा गरेका छन् । तालिबानले सत्ताकब्जा गरेसँगै अफगान महिलाहरू डराएका छन् । पछिल्लो २० वर्षमा उपभोग गरेका अधिकारहरू कटौती हुने भय उनीहरूमा छ ।

तालिबानले पहिलोपटक शासन गर्ने समयको जस्तै कठोर अवस्थाको सामना गर्नुपर्ने चिन्ता छ ।तर, यसपटक भने महिलाहरू चुप लागेर बसेका छैनन् । झन्डै चार करोड जनसंख्या रहेको अफगानिस्तामा त्यसको

आधाजति संख्या महिलाको छ । हालैका दिनहरूमा सानै संख्यामा भए पनि महिलाहरूले राजनीतिक र आर्थिक मुद्दा उठाउँदै प्रदर्शन गरेका छन् । सरकारमा महिलाको सहभागिता र काम गर्न पाउनुपर्ने माग राख्दै

राजधानी काबुल र हेरात प्रान्तमा प्रदर्शन गरेका हुन् । उनीहरूले आफ्नो उज्ज्वल भविष्यको लागि प्रदर्शन गरेको बताएका छन् ।“२५ वर्षअघि जब तालिबान आए, उनीहरूले मलाई विद्यालय जानबाट रोके,”

पत्रकार अजिता नाजिमाीले अफगान सञ्चारमाध्यम टोलो न्युजलाई भनिन्, “उनीहरूको पाँचवर्षे शासनकालपछि मैले २५ वर्षसम्म अध्ययन गरेँ र कडा परिश्रम गरे । हाम्रो राम्रो भविष्यको लागि फेरि त्यस्तो हुन दिने छैनौँ ।”

यद्यपि, उनीहरूको प्रदर्शनलाई तालिबानले दमन गरेको छ । शनिबार राजधानी काबुलमा दजनौँ महिलाहरूले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार गरी बिथोलिएको थियो ।

तालिबान लडाकुले ‘गन म्यागाजिन’ले प्रदर्शनकारी महिलाहरूको टाउको रगताम्य हुने गरी प्रहार गरेको एक प्रदर्शनकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । “उनीहरूले महिलाहरूको टाउकोमा

‘गन म्यागाजिन’ले पनि प्रहार गरे र महिलाहरू रगताम्य भए,” ती महिलाले भनिन् ।तालिबानले भने प्रदर्शन नियन्त्रणबाहिर गएको जनाएको थियो ।नयाँ सरकारको गठन गर्न लागिरहेको तालिबानले

यसअघि नै महिलालाई केही जिम्मेवारी दिन सकिने भए पनि मन्त्री नबनाउने स्पष्ट पारिसकेको छ । तालिबान अधिकारीले ‘इस्लामिक कानुनको रूपरेखाभित्र’ रहेर महिलाका अधिकारहरूको सम्मान गरिने

बताएका छन् ।अफगान सत्ताकब्जा गरेपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेका थिए, “हाम्रो ढाँचाभित्र रहेर महिलालाई काम र अध्ययन गर्न अनुमति दिनेछौँ ।”

उनीहरूको रूपरेखाभित्र के कस्ता विषयहरू पर्छन् भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।तालिबानले पहिलेको भन्दा केही सुधार गर्ने सार्वजनिक वाचा गर्दै आएको छ । तर, अफगान महिलाहरूले भने

तालिबान अधिकारीका बोलीमा विश्वास गरेका छैनन् । विशेषगरी राजनीति र पत्रकारितालगायत सार्वजनकि क्षेत्रमा काम गर्ने महिलाहरूले खतराको सामना गर्नु परिरहेको बताइरहेका छन् । उनीहरूले पूर्वपेसामा फर्किए

मारिनेसम्मको धम्की पाएका छन् । एकजना नाम बताउन नचाहने महिलाले ‘आफू पत्रकारितामा फर्किए तालिबानले मारिदिने’ भनेको बताइन् ।अमेरिकी नेतृत्वको पश्चिमा देशको सेना फिर्ती र तालिबानको

सत्ताकब्जाले सिंगो अफगानिस्तानको अवस्था नै अनिश्चित भइरहेको बेला महिलाको अवस्था थप जटिल बनेको हो ।
अन्तर्राष्ट्रिय समुदायले महिलाको अधिकार सुनिश्चित गर्न तालिबानलाई आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले महिला र बालबालिकाको अधिकारसहित मानवअधिकारहरूको रक्षा गर्न तालिबानलाई आह्वान गरेको छ ।अन्तर्राष्ट्रिय दबाबका बीच तालिबानले महिलाहरूप्रति कस्तो व्यवहार

गर्छ ? तालिबानको दमनका बाबजुद महिला अधिकारकर्मीहरू कसरी अघि बढ्छन् ? के तालिबानले महिलाको माग सुनुवाइ गर्ला ? यो समयले प्रष्ट्याउनेछ । तर, यस मामिलामा तालिबान भने कठोर हुने संकेत देखाइरहेको छ ।

तपाईको प्रतिक्रिया